चलचित्र ‘मनसरा’को ट्रेलर सार्वजनिक, ट्रेलरमा प्रेम र द्वन्द्व समावेश।

काठमाडौं := यही वैशाख २१ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमबीच कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशन रहेको चलचित्र ‘मनसरा’को ट्रेलर सार्वजनिक गरिएको हो ।

सार्वजनिक ट्रेलरमा प्रेम र द्वन्द्व समावेश छ । साढे चार मिनेट लम्बाइको ट्रेलरले शहर नजिककै एक बस्तीमा बस्ने दुई अलग समुदायका पात्रको कथालाई पेश गरेको छ । विवाहित ब्राहृमण पुरुष र लिम्बू महिलाबीचको नोकझोंक र आकर्षणमा ट्रेलर केन्द्रित छ ।

ट्रेलरले मुख्य कलाकारको मनोदशा प्रस्तुत गरेको छ । ट्रेलरको सुरुवात र अन्त्य पालाम (लिम्बू गीत)बाट गरिएको छ । समग्रमा ट्रेलरले अन्तरजातीय सम्बन्धको कथालाई भन्न खोजेको देखिन्छ । ट्रेलरमा प्रवीण खतिवडा, मिरुना मगर, दयाहाङ राई, मेनुका प्रधानलगायत चलचित्रका मुख्य पात्रलाई देख्न सकिन्छ ।

निर्देशक सुब्बाकै लेखन रहेको चलचित्रमा शान्ति गिरी, हेमन्त बुढाथोकी, विप्लव प्रतीक (कवि), जीवन बराल, अनिल सुब्बा, लोकमणि सापकोटालगायतको पनि अभिनय छ । चलचित्रका निर्माता र छायांकार शैलेन्द्रध्वज कार्की हुनुहुन्छ । सिजन दाहाल कार्यकारी निर्माता रहेको चलचित्रमा विष्णकुमार थेबे, पर्शु अधिकारी र जीवन लिम्बू थाक्लुङ सह–निर्मातामा रहनुभएको छ ।