गठबन्धनमा असन्तुष्टि बढ्दै गएको बेला प्रधानमन्त्री प्रचण्ड, केपी ओली, र लामिछानेबीच भेटवार्ता।

काठमाडौं:= प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको सरकारी कार्यालयमा उहाँहरुबीच भेटवार्ता भएको हो ।

गठबन्धनमा असन्तुष्टि बढेपछि झापाबाट काठमाडौं ओर्लने बित्तिकै एमाले अध्यक्ष ओली सिंहदरबारमा पुग्नु भएको थियो भने उप-प्रधान मन्त्रीसमेत रहनुभएको गृहमन्त्री सिंहदरबारमै हुनुहुन्थ्यो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच वैकल्पिक गठबन्धन बनाउने समाचार बाहिरिपछि सत्तारुढ तीन दलका शीर्ष नेताहरुबीचको आजको भेटवार्तालाई अर्थपूणरुपमा हेरिएको छ ।

गठबन्धनमा असन्तुष्टि जनाउँदै कांग्रेस सभापति देउवासँग भेटेर वैकल्पिक गठबन्धन बनाउने सहमतिका विषयमा पनि छलफल चलेको हो ? भन्ने पत्रकारको प्रश्नमा बैठकबाट बाहिरिँदै गर्नुभएका गृहमन्त्री लामिछानेले त्यो विषयमा केही छलफल नभएको बताउनु भयो । सामान्य राजनीतिक विषयमा छलफल भएको उहाँले बताउनु भयो ।

शीर्ष नेताहरुबीच निरन्तर छलफल भइरहने र यो पनि त्यसैको निरन्तरताको प्रक्रिया मात्र भएको उहाँले बताउनु भयो । ‘म क्याविनेट बैठकमा यहिँ थिएँ, ओलीजी उहाँबाट आउनु भयो, तीनै जनाबिच भेटघाट नभएको धेरै भएको थियो । त्यसै अनुरुप भेटघाट र छलफल भएको हो, अरु केही होइन ।’ उहाँले सुदूरपश्चिममा भएको विषयले संघीय सरकारमा प्रभाव नपर्ने समेत बताउनु भयो ।