
एजेन्सी := नेपालले एसीसी प्रिमियर कपमा लगातार दोस्रो जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको हो ।
नेपालले दिएको २११ रनको लक्ष्य पछाएको कतारले २० ओभरमा ९ विकेट गुमाउदै १७८ रन बनाएको थियो । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउदै २१० रन बनाएको थियो ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले आक्रामक ब्याटिंग गर्दै अविजित ६४ रन बनाएका थिए । दिपेन्द्रले १९ बलमा अर्धशतक पुरा गरेका थिए । दिपेन्द्रले अन्तिम ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका थिए ।

६ छक्का प्रहार संगै दिपेन्द्र सिंह ऐरी एकै ओभरमा ६ छक्का हान्ने पहिलो नेपाली खेलाडी बनेका छन्। उनी एकै ओभरमा छ छक्का प्रहार गर्ने तेस्रो अन्तराष्ट्रिय खेलाडी बने। यसरी भारतका युवराज सिंह र वेस्ट इन्डिजका केइरन पोलार्डले पनि एकै ओभरमा छ छक्का प्रहार गरेका थिए।
त्यस्तै असिफ सेखले ५२ रन बनाए भने कुशल मल्लले ३५, कप्तान रोहित पौडेलले १८, कुशल भुर्तेलले १२ सन्दीप जोराले ७ र गुलशन झाले ५ रन बनाएका थिए ।
त्यसैगरी कतारका बलर हिमांशु राथोड र मुसावर शाहले ३-३ विकेट लिएका थिए । यो जितपछि समुह ए मा रहेको नेपालको २ खेलमा ४ अंक भएको छ । नेपालले अब अर्को खेल आगामी सोमबार हङकङसँग खेल्ने तालिका रहेको छ ।



















