गायक राजेश पायल राई र पत्नी सङबुङ राईबीच सम्बन्ध बिच्छेद, के के पाइन् त अंशमा पत्नीले ?

काठमाडौं := गायक राजेश पायल राई र पत्नी सङबुङ राईबीच सम्बन्ध बिच्छेद भएको छ । काठमाडौं जिल्ला अदालतमा चैत १५ गते उनीहरुबीचको सम्बन्ध बिच्छेद भएको हो ।

न्यायाधीश पदमराज पाण्डेको एकल इजलासले सम्बन्ध विच्छेदको फैसला गरेको हो । गायक राईले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका थिए । राजेश र साङबुङका डेढ वर्षका छोरा समेत छन् । फैसला अनुसार छोरा शिशु अवस्थामै रहेका कारण आमासँगै रहनेछन् । छोरा बालिक नहुनञ्जेल मासिक १५ हजार रुपैयाँ र पढाई खर्च गायक राजेशले नै बुझाउनु पर्नेछ ।

सङबुङलाई अंश वापत राजेशले ५० लाख नगद दिनुपर्ने छ । राजेशका नाममा रहेको काठमाडौंमा १ आना १ पैसा ३ दाममा बनेको घर साङबुङ र छोराको संयुक्त नाममा रहने फैसला भएको अदालतका प्रवक्ता चन्द्रप्रसाद पन्थीले जानकारी दिनुभयो ।

राजेशपायलको नक्सालमा र शान्तिनगरमा दुईटा घर छन्। ती मध्ये नक्सालमा रहेको करिब ५ करोडको घर सङबुङलाई दिने भएका हुन् । प्रवक्ता पन्थीका अनुसार गत साउन २१ राजेशले सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेका थिए ।

उनीहरू औपचारिक विवाह नगरीकन लिभ इनमा बसिरहँदा पुत्रलाभ भएको थियो । त्यसपछि २०७८ साल असोज महिनामा यी दुईबीच विवाह दर्ता भएको थियो ।यसैवीच बुधबार राति राजेश पायल मादक पदार्थ खाएर होहल्ला गरेको आरोपमा पक्राउसमेत समेत परेका थिए ।

समूहमा पक्राउ परेका उनलाई बानेश्वर प्रहरीले बिहानमात्र सम्झाएर रिहा गरेको थियो । यी दुईजना जोडीको सम्बन्ध बिच्छेद नेपालकै सबै भन्दा महँगो सम्बन्ध विच्छेद भएको चर्चा चुलिएको छ ।