आईपीएलको १७औं संकरण आजदेखि शुरु, चेन्नई र बैंगलोर भिड्दै।

काठमाडौं := इण्डियन प्रिमियर लिग (आईपीएल) को १७औं संकरण आजदेखि शुरु हुदै छ। उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन चेन्नई सुपरकिङ्स र रोयल च्यालेन्जर्स बैंगलोर भिड्दैछन्। चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि शुरू हुनेछ।​

चेन्नईले अहिलेसम्म ५ आईपीएल उपाधि जितेको छ । चेन्नई आईपीएलकै सबैभन्दा सफल टिम मध्ये एक टिम हो। यस सिजनमा महेन्द्र सिंह धोनीले भने चेन्नईको कप्तानी छोडेका छन्। चेन्नईले रुतुराज गायकवाडलाई नयाँ कप्तान बनाएको छ।​ चेन्नईले यस सिजनमा न्यूजील्याण्डका रचिन रविन्द्रलाई भित्र्याएको छ। उनको यो आईपीएल डेब्यू हो।

यता रोयल च्यालेन्जर्स बैंगलोरले भने अहिलेसम्म आईपीएलको उपाधि जित्न सकेको छैन। फाफ डु प्लेसिसको कप्तानीमा रहेको बैंगलोरले यस सिजनमा अस्ट्रेलियाका ब्याटिंग अलराउण्डर क्यामरुन ग्रीनलाई भित्र्याएको छ। उद्घाटन समारोहमा गायक एआर रहमान, सोनु निगम र बलिउड अभिनेता अक्षय कुमार, टाइगर श्राफले प्रस्तुति दिने भएका छन्।

प्रतियोगिताको १७औँ संस्करणमा चेन्नई सुपर किङ्स, दिल्ली क्यापिटल्स, गुजरात टाइटन्स, कोलकाता नाइट राइडर्स, लखनउ सुपर जाइन्ट्स, मुम्बई इन्डियन्स, पञ्जाब किङ्स, राजस्थान रोयल्स, रोयल च्यालेन्जर्स बैंग्लुरु र सनराइजर्स हैदराबादको सहभागिता रहने छ ।

भारतमा हुने लोकसभा चुनावका कारण हाल आईपीएलको २१ खेलको तालिका मात्र सार्वजनिक गरिएको छ । हाल घोषणा गरिएको तालिका अनुसार, पहिलो चरणको अन्तिम खेल अप्रिल ७ तारिखमा लखनउ सुपर जाइन्ट्स र गुजरात टाइटन्सबिच खेलिने छ ।

प्रतियोगिताका क्रममा कुल ७४ खेल खेलाइने छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले १७औँ संस्करणका सबै खेल भारतमै खेलाइने दाबी गरेको छ । तर, लोकसभा निर्वाचनका कारण दोस्रो चरणको खेल संयुक्त अरब इमिरेट्स (यूएई) मा खेलाइने विषयमा पनि छलफल भइरहेको समाचारमा जनाइएको छ ।

यद्दपि, बीसीसीआईका सचिव जय शाहले लोकसभा निर्वाचनले आईपीएलमा कुनै असर नपार्ने दाबी गर्दै आएका छन् । लोकसभा चुनावको मिति घोषणापछि बीसीसीआईले बीसीसीआईले आईपीएलको दोस्रो चरणको खेल तालिका पनि छिट्टै सार्वजनिक गरिने जनाएको छ ।

भारतीय निर्वाचन आयोगले लोकसभा चुनाव सात चरणमा गर्ने घोषणा गत शनिबार गरिसकेको छ । आयोगका अनुसार, लोकसभा चुनाव अप्रिल १९ देखि जुन १ तारिखसम्म हुनेछ । त्यसपछि जुन ४ तारिखदेखि मत गणना सुरु हुनेछ ।