क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीमा कार्यरत रहेका प्रवासी नेपाली श्रमिकहरुको उद्दार तथा आवाज उठाउन कार्य गर्दै आएका संस्था “प्रवासी नेपाली समन्वय समिति “पिएनसीसी” मलेसियाद्वारा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
यहि आइतबार ३ मार्च २०२४ दिन एनआरएनएको कार्यालयमा सम्पन्न कार्यक्रममा नेपाल राजदुतावासकी उपनियोग प्रमुख मुदिता बज्राचार्यको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा पीएनसीसी केन्द्रका सल्लाहकार कूल प्रसाद कार्कीले कार्यक्रम तथा संस्थाको कार्ययोजना तथा कार्यतालिकाको बिषयमा जानकारी गराएका थिए भने संस्थाका कार्यक्रम संयोजक अभिमान सिंह लामाले पीएनसीसी के हो ? र यसले कसरी कार्य गर्छ ? कुन कुन निकायसँग समंवय गरेर काम गर्छ ? भन्ने लगायतका बिषयमा स्पष्ट पारेका थिए ।

कार्यक्रममा उपस्थित सहभागिहरुले पिएनसीसीसँगको सहकार्यको अनुभव तथा सुधारका सुझावहरु दिएका थिए । कार्यक्रममा प्रवासी नेपाली मञ्च मलेसियाका अध्यक्ष दयाराम कूमालले आफ्नो संस्थाले मलेसियामा टिकट अभावमा रहेका जतिपनि नेपालीहरुको हवाई टिकट उपलब्ध गराउने साथै अन्य कार्यहरुमा पनि पिएनसीसी मलेसियासँग सहकार्य गर्न सकिने बताएका थिए ।
त्यस्तै गैर आवासीय नेपाली संघ “एनआरएनए” मलेसियाका उपाध्यक्ष हेमराज सापकोटाले पिएनसीसी मलेसियाले सामाजिक कार्यहरुमा धेरै काम गरेता पनि जिम्मेवारीमा आएका कामहरुलाई पूर्णरुपले निर्वाह गर्न सुझाव दिएका थिए ।
कार्यक्रममा एनआरएनए मलेसियाका संस्थापक अध्यक्ष शंकरबहादुर पौडेलले बिगतमा भए गरेका सामाजिक कार्यहरुको संस्मरण गर्दै पिएनसीसीलाई अझ अगाडी बढन शूभकामना दिए ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुतावासकी उपनियोग प्रमुख मूदिता बज्राचार्यले मलेसियामा नेपाली श्रमिकहरुले भोगिरहेका समस्याहरुको समाधान गर्नु जरुरी रहेको तर, त्यो भन्दा पनि जरुरी नेपाली श्रमिकहरु परिवार भुलेर, आफ्नो देश भुलेर प्रवासमा हराउनु थालेकोमा यस किसिमको समस्याको समाधान खोज्नुपर्ने कुरामा जोड दिएकी थिइन् ।
कार्यक्रमको अन्त्यमा कार्यक्रमको अध्यक्षता गरिरहेका पूर्ण लिम्बुले उपस्थित सम्पूर्ण संस्थाका प्रतिनिधिहरुलाई धन्यवाद दिनको साथै पिएनसीसी मलेसियाले श्रमिकहरुको हकहितमा सधैं कार्य गरिरहने जानकारी गराउनु भएको थियो ।
साथै लिम्बुले मलेसियामा रहनु भएका कुनै पनि नेपाली श्रमिकलाई समस्या , दु:ख परेको खण्डमा पिएनसीसी मलेसियालाई सम्झिन सकिने बताउनु भयो । अन्तरक्रिया कार्यक्रमको सञ्चालन पिएनसीसीकै प्रतिनिधि मनोज चापागाईले गरेका थिए।




















