काठमाडौं := काठमाडौं महानगरपालिकाविरुद्ध कवाडी संकलकहरू आन्दोलनमा उत्रिएका छन् । अनधिकृत रूपमा रहेका संकलन केन्द्रहरूमा महानगरले डोजर चलाउन लागेपछि कवाडी संकलकहरू आन्दोलित भएका हुन् । काठमाडौं महानगरपालिकाभित्र दर्ता भएका व्यवसाय हटाउन भन्दै वडा कार्यालयले पठाएको पत्रप्रति उनीहरूले विरोध जनाएका छन् ।
हजारौंको संख्यामा भेला भएका उनीहरूले शुक्रबार काठमाडौंमा विरोध प्रदर्शनसहित ¥याली निकालेका थिए। उनीहरूले बुद्धनगरबाट सुन्धारासम्म र्यालीसहित प्रदर्शन गरेका हुन् । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले केही दिनअघि काठमाडौंबाट कवाड संकलन केन्द्र नै हटाउने निर्णय गर्नुभएको थियो ।
उनीहरूले अनधिकृत ढंगले कवाड हटाउने कार्य बन्द गर्, अदालतको निर्णयको सम्मान गर्, कानुनी शासन लागू गर्, हाम्रो व्यवसायमाथिको हस्तक्षेप बन्द गर् लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । महानगरले आफूहरूमाथि ज्यादती गरेको उनीहरूको गुनासो थियो ।
काठमाडौं महानगरपालिकाको रिङरोड भित्रका कवाडी व्यवसाय हटाउने नीतिविरुद्ध र महानगरपालिका भित्रका विभिन्न वडा कार्यालयहरूले कवाडी व्यवसाय दर्ता नवीकरण नगरेको भन्दै उनीहरूले आपत्ति जनाएका थिए । आफूहरूले प्रचलित कानुनबमोजिम दर्ता गरेर सरकारलाई तिर्नुपर्ने करसमेत तिर्दै आएको र कानुनबमोजिम दर्ता गरेर व्यवसाय गर्दै आएका व्यवसायीलाई निर्वाध रूपमा व्यवसाय सञ्चालन गर्न दिनुपर्ने उनीहरूको मुख्य माग छ ।
महानगरपालिकाले महानगर मातहतका सम्पूर्ण वडा कार्यालयहरूले कवाडी हटाउने भन्दै कसैलाई ७, १५, तथा ३५ दिनभित्र कवाडी सामग्री पसल हटाई अन्यन्त्र लैजान निर्देशन गरेको थियो । महानगरको निर्देशनपछि सम्पूर्ण कवाडी व्यवसायी र संस्था स्काप हकहित फाउन्डेसन समेतले काठमाडौं महानगरपालिकाका प्रमुखलाई ज्ञापनपत्र बुझाएको थियो ।
त्यो ज्ञापनपत्रमाथि महानगरपालिकाले सुनुवाइ नगरी डोजर लिई कवाड व्यवसायीहरूलाई आतंकित पारेकाले आन्दोलन गरेको उनीहरूले बताएका छन् । कवाडी संकलक र व्यवसायीहरू अधिकांश भारतीय छन् । महानगरको यो कदम उच्च र कुलीन वर्गको पक्षमा र गरिखाने वर्गको विरुद्धमा देखिएको उनीहरूले बताएका छन् ।
यसअघि बुधबार राति सुन्धारामा महानगरले सडक व्यापारीमाथि निर्मम कुटपिट गरेको थियो । महानगरले भने आफूहरूले कुटपिट नगरेको बरु प्रतिरक्षा गरेको जिकिर गर्दै आएको छ । तर, नगर प्रहरी सामान खोस्न नभई आक्रमण गर्ने उद्देश्यले नै आएको सामाजिक सञ्जालमा व्याप्त भिडियोमा देखिन्छ । महानगरले नागरिकमाथि निर्घात कुटपिट गरेपछि मेयर साहको विरोध भइरहेको छ ।




















