‘उपहार’ले सामाजिक विषयवस्तुलाई मनोरञ्जनपूर्ण हिसाबले प्रस्तुत गरेको छु: रेखा थापा।

[ हिमालय टाइम्स/गीता अधिकारी ] 

पहिलो सन्तानलाई जन्म दिन परिवारसँग अ मेरिकामा रहनुभएकी रेखा थापा यतिबेला चलचित्र ‘उपहार’को प्रचार-प्रसारमा जुट्नुभएको छ । यो चलचित्र यही २५ फागुनदेखि सिनेमाघरमा आउँदै छ । ‘उपहार’ले सामाजिक विषयवस्तुलाई मनोरञ्जनपूर्ण हिसाबले प्रस्तुत गरेको रेखा बताउनुहुन्छ । नेपाली चलचित्रमा एउटै विषयवस्तु भयो भन्ने आरोप आफूले पनि सुनिरहेको बताउने रेखाले त्यो आरोपलाई ‘उपहार’ ले गलत साबित गर्ने दाबी गर्नुभएको छ ।

‘हाम्रो फिल्म आँखालाई शीतल दिने किसिमको छ । फिल्ममा हरेक मान्छेको यात्रामा भेटिने सफलता र असफलता तथा प्रेम र विछोडका कुरा दर्शकले पाउनुहुनेछ,’ रेखा भन्नुहुन्छ । रेखाले ‘उपहार’ मा समाज रूपान्तरणका कुरादेखि लिएर हरेक दिन समाजमा भइरहने घटनाका कुरा पनि उठान भएको बताउनुभयो । चलचित्रमा नारीमात्र होइन, पुरुष पनि पीडित छन्न् भन्ने कुरा देखाइएको उहाँको भनाइ छ । ‘५-१० वर्षयता नेपाली फिल्ममा देखिँदै आएका कथाभन्दा ‘उपहार’ को कथा फरक छ । हामीले दर्शकले मन पराउने कथामा फिल्म बनाएका छौँ ।

फिल्मको कथा, छायांकन, सम्पादन, संगीतलगायत सबै कुराले दर्शकलाई मनोरञ्जन दिन्छ भन्नेमा ढुक्क छौँ । दर्शकले तनावमुक्त भएर ‘उपहार’ हेर्नुहुनेछ,’ उहाँ भन्नुहुन्छ । ज्ञानेन्द्र देउजा निर्देशित यो चलचित्रमा रेखासँगै पूजा शर्मा, मुकुन भुसाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुुसाल, शोभारस घिमिरे, मञ्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्यायलगायतको अभिनय छ । यही चलचित्रका विषयमा यतिबेला अमेरिकामा रहनुभएकी अभिनेत्री रेखा थापासँग गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अंशः-

कस्तो छ स्वास्थ्य ?
एकदमै राम्रो छ । डाक्टरले पनि एकदमै राम्रो भन्नुभएको छ । नेपालमा पनि मैले आफ्नो स्वास्थ्य जँचाइनै रहेकी थिएँ । तर, अलिक नर्मस थिएँ म । यता (अमेरिका)मा आएपछि अहिले ठीक छु । हामी आमाछोरीको नै स्वास्थ्य ठीक छ ।

यहाँको चलचित्र ‘उपहार’ दर्शकमाझ आउँदै छ, कत्तिको उत्साहित हुनुहुन्छ ?
अघिल्ला चलचित्रको समयमा भन्दा यो पल्टचाहिँ एकदमै उत्साहित छु । मैले काम गरेका र निर्माण गरेका अघिल्ला चलचित्रहरू प्रदर्शनको समयमा नर्मस हुन्थेँ म । यो पटकचाहिँ उत्साहित छु । अहिले जति पनि हलमा चलिरहेका छन् तीभन्दा फरक स्वाद ‘उपहार’मा पाउनुहुनेछ भन्ने लाग्छ ।

अघिल्ला चलचित्रको समयमा भन्दा यो पल्ट एकदमै उत्साहित छु । मैले काम गरेका र निर्माण गरेका अघिल्ला चलचित्रहरू प्रदर्शनको समयमा नर्मस हुन्थेँ म । यो पटकचाहिँ उत्साहित छु । अहिले जति पनि हलमा चलिरहेका छन् तीभन्दा फरक स्वाद ‘उपहार’मा पाउनुहुनेछ भन्ने लाग्छ । मान्छेको जीवनमा, जुन यात्रामा हिँडिरहेका हुन्छौँ हामी । यो यात्रामा कहिले कठिन त कहिले सहज हुन्छ । उत्साह होला, निराश होला । यी सबै ब्रहृमाण्डले दिएको उपहार हो । यसलाई उपहारका रूपमा लिनुपर्छ । यदि हामीले जीवनलाई उपहारका रूपमा लिन सक्यौँ भने जीवन सुखद, सरल, सहज र सार्थक हुन्छ ।

नवल खड्काले आफ्नो चलचित्रसँग उपहार जुधाउन ल्याउनुभएको भन्ने आरोप लगाउनुभएको छ नि ?

मलाई थाहा पनि थिएन, उहाँको चलचित्र कहिले लाग्दैछ भनेर । हामीले हाम्रो चलचित्र माघको २६ गते रिलिज गर्ने भनेर छलफल गरेका थियौँ । माघ २६ गते चलचित्रका कामहरू नसकिने भएको कारणले सरेर फागुन २५ गते आइपुगेको हो । फेरि मैले त चलचित्र निर्माण गर्दा र चलाउँदा ज्योतिषीलाई देखाउने गरेकी छु, कतिपयलाई थाहा छ कि छैन । अनि सोही दिन नारी दिवस परेको हुनाले मेरो दिन हो जस्तो लाग्छ के मलाई ।

अनि ज्योतिषीले नै नारी दिवस, शिवरात्री पनि भएको हुनाले चलचित्र प्रदर्शनका लागि राम्रो छ भनेको हुनाले फागुन २५ गते डेट राखिएको हो । यसबाहेक अरू केही होइन । निर्देशकलाई पनि मैले फागुन २५ मै रिलिज गर्नुपर्छ है भनेर मैले ज्ञानेन्द्र दाइलाई प्रेसर दिएकी थिएँ । उहाँले वैशाखतिर भन्ने कुरा गर्दै हुनुहुन्थ्यो । त्यतिबेला धेरै नै पुरानो हुने हुँदा यतिबेला फिल्म रिलिज गर्न सहमत भएका हौँ । अब यो समयमा कसको फिल्म छ, के छ भन्ने कुरा नै भएन । हुन त अब दुई-तीनवटा फिल्म यसै पनि जुधिनै रहेको हुन्छ हलहरूमा ।

उपहार नै नाम जुराउनुको कुनै कारण छ कि ?
मान्छेको जीवनमा, जुन यात्रामा हिँडिरहेका हुन्छौँ हामी । त्यस्तो बेलामा कहिले कठिन होला, कहिले सहज होला, उत्साह होला, निराश होला । यी सबै ब्रहृमाण्डले दिएको उपहार हो । यसलाई उपहारका रूपमा लिनुपर्छ । यदि हामीले जीवनलाई उपहारका रूपमा लिन सक्याँै भने जीवन सुखद, सरल, सहज र सार्थक हुन्छ भन्ने एङ्गलबाट उपहार राखेको हो ।

चलचित्रको कथा पनि तपाईंले भने जस्तै छ कि ?
फिल्मको कन्टेन अहिले चलिरहेको भन्दा फरक छ । कथाकारले पनि एकदमै फरक शैलीमा राम्रो कथा तयार पार्नुभएको छ भने निर्देशकीय पक्षबाट पनि मिहिनेत गरिएको छ । मैले अघिल्ला फिल्ममा गरेको गल्ती यसमा सुधारेको छु । यो फिल्म हेरुन्जेल दर्शकलाई बोर लाग्दैन । फिल्म हेरुन्जेल दर्शकलाई हरेक क्यारेक्टरमा म हुँ भन्ने लाग्छ । यो फिल्म युनिभर्सल फिल्म हो भन्न रुचाउँछु ।

पछिल्लो समय विदेशमा पनि नेपाली चलचित्र प्रदर्शन गर्न थालिएको छ । तपाईं अमेरिकामा नै हुनुभएकाले त्यता प्रदर्शन गर्ने के सोच बनाउनुभएको छ ?
हो, मैले पनि चलचित्र ‘उपहार’ अमेरिकालगायत केही मुलुकमा प्रदर्शन गर्ने सोचमा रहेकी छु । युरोपतिरबाट पनि फिल्मको माग भइरहेको छ । म फिल्म प्रदर्शन गर्न भनेर नै आएकी हुँ यहाँ । तर, मान्छेहरूले अनेक अड्कलबाजी गरिरहेका छन् । ज्ञानेन्द्र दाजुलाई तपाईं नेपालको शो हेर्नु म बाहिर हेर्छु भनेर नै आएकी हुँ ।

पछिल्लो समय तपाईंको चलचित्रको भन्दा पनि बच्चा जन्माउन अमेरिका गएको भन्ने आरोपले चर्चा पाइरहेको छ नि ?
हाँसो उठ्छ के यस्तो कुराले । म कसैको ढुकुटी रित्याएर आएकी पनि होइन । म सांसद, मन्त्री पनि भएको होइन । म सरकारी पैसामा यता आएकी पनि होइन । मान्छेहरू आफूलाई रोग लाग्दाखेरी नेपालमा भन्दा बढी उपचारका लागि विदेश नै आउने गरेका छन् । यो सामान्य कुरा हो । अब एउटी आमा बच्चा जन्माउनका लागि कहाँ सहज हुन्छ त्यहीँ जान्छे । यसो भनिरहँदा नेपालका हस्पिटल कमजोर छन् भन्ने खोजेको होइन । मेरो परिवार यतै भएको हुनाले पनि सहज खोज्न आएकी हुँ । मेरो कन्फिडेन्ट लेवल पनि त हुन्छ ।

अमेरिकामा नै सेटल हुने चाहनाले तपाईं अमेरिका गएको आरोप लागेको छ नि ?
यतिका वर्षको उमेरमा त यता सेटल भइनँ । अब हुन्छु होला र ? देशमा सशस्त्र युद्धदेखि दरबार हत्या काण्डलगायत विभिन्न आरोह–अवरोह झेलेर आएकी मान्छे हुँ म । म पलायन हुने भए पहिलो दोस्रो फिल्ममा काम गर्दै हिँडिसक्ने थिएँ । अबको उमेरमा म पलायन हुन्छु, हुन्छे भन्ने कुरामा सत्यता छैन । ती सबै आरोप हुन् । अझ म त देश बनाउने अभियानमा हिँडेकी मान्छे पलायन हुन्छु होला त ?

यस्ता आरोपले मानसपटलमा कत्तिको असर गर्दो रहेछ ?
मलाई त कुनै असर गरेको छैन । जसले मलाई आरोप लगाउनुभयो, उहाँहरूलाई देखेर मलाई माया लाग्यो ।

अन्त्यमा ?
यही फागुन २५ गतेदेखि हामीले निर्माण गरेको चलचित्र ‘उपहार’ सिनेमाघरहरूमा आउँदै छ । हामी सबैको मिहिनेतले एउटा उत्कृष्ट चलचित्र यहाँहरूमाझ लिएर आउँदै छाँै । चलचित्रका सार्वजनिक गीतहरूलाई यहाँहरूले मन पराइदिनुभएको छ । चलचित्रमा मसँगै पूजा शर्मा, मुकुन भुसाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुसाल, शोभारस घिमिरे, मञ्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त, सरिता राजोपाध्यायलगायत कलाकारको अभिनय छ । बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको यस चलचित्रका निर्माता सुलभ प्रतीक र समीक्षा देउजा हुनुहुन्छ । चलचित्रमा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डी गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यु निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भिएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ । चलचित्रको वितरण उपत्यकाभित्र ऋच इन्टरटेनमेन्ट र उपत्यकाबाहिर एफडी कम्पनीले गर्दै छ । यहाँहरू सबैको सधैँ जस्तै साथ सहयोगको अपेक्षा राखेका छाँै ।