काठमाडौँ:= टी–२० आई त्रिकोणात्मक सिरिजमा घरेलु टोली नेपालले नामिबियाविरुद्ध रोमाञ्चक जित निकालेको छ। आज भएको खेलमा घरेलु टोली नेपालले नामिबियालाई ३ रनले पराजित गर्दै सिरिजमा पहिलो जित निकालेको हो। करण केसीले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गर्दै ३ रनको रोमाञ्चक जित दिलाए ।
अन्तिम ओभरमा नामिबियाका लागि जितका लागि १२ रन आवश्यक रहेकोमा करण केसीले शानदार बलिङ गर्दै एक विकेट लिएर ८ रन मात्र दिदै नेपाललाई जित दिलाएका थिए । नामिबियाका लागि जेजे स्मिथले सर्बाधिक ५० रन बनाएका थिए भने जान फ्राइलिंकले ३७, जान ग्रीनले २१, जेपी कोट्जेले २५ रन बनाएका थिए ।
त्यसैगरी नेपाली बलर करण केसी, सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले २-२ विकेट लिएका थिए भने अविनाश बोहोराले एक विकेट लिएका थिए। यसअघि नामिबियाविरुद्धको खेलमा टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले २० ओभरमा ८ विकेट गुमाउदै १८० रन बनाएको थियो ।
नेपालका लागि कुशल मल्लले अर्धशतकीय पारी खेलेका थिए । कुशलले ५५ रन बनाएका थिए । त्यस्तै आरिफ सेखले महत्वपूर्ण ३१ रन बनाएका थिए भने गुलशन झाले २६, अनिल शाहले २३, दिपेन्द्र सिंह ऐरीले १६, कप्तान रोहित पौडेलले १०, कारण केसीले ७ रन बनाएका थिए ।
त्यसैगरी नामिबियाका बेन शिन्कोंगोले सर्बाधिक ३ विकेट लिएका थिए भने ज्याक ब्रासेलले २ तथा जान निकोल इटन, रुबेन ट्रम्पेलम्यान र बेर्नार्ड स्कोल्जले एक एक विकेट लिएका थिए । यो नेपालको यस सिरिजमा पहिलो जित हो । यो जितपछि नेपालको ३ खेलमा २ अंक रहेको छ ।
त्यस्तै नामिबियाको भने ३ खेलमा ४ अंक रहेको छ। यो जितसँगै नेपालले फाइनल खेल्ने सम्भावना जिवितै छ। नेपाल पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको थियो। अब सिरिजको अर्को खेलमा शनिबार नेपालले नेदरल्याण्डसको सामना गर्ने छ ।




















