युट्युबर शर्मिला वाइबालाई चार दिन प्रहरीको हिरासतमा राख्न जिल्ला अदालतको अनुमति।

काठमाडौं := आफू लाई अभियान्ता बताउँदै आएकी युट्युबर शर्मिला वाइबालाई चार दिन प्रहरीको हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ। बुधबार पक्राउ परेकी उनलाई प्रहरीले बिहीबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको छ । उनलाई सिन्धुपाल्चोकको बाह्रबिसेबाट पक्राउ गरिएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई पक्राउ गर्न सिन्धुपाल्चोक प्रहरीसँग समन्वय गरेको थियो ।शर्मिलासहितको समूहले कुटपिट गरेको भन्दै कलाकार पवन खतिवडाले जाहेरी दिएपछि उनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरेर प्रहरीले ल्याएको थियो ।

केही दिनअघि शर्मिला, पवनकी पत्नी सुम्निमा खालिङ र बहिनी पवन बसेको घरमा गएर उनीमाथि गरेको आरोप छ । उनीविरुद्ध कुटपिट तथा अंगभंग सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ । कुटपिटको जाहेरी परे उनीविरुद्ध ठगीसम्बन्धी कसुरमा पनि अनुसन्धान हुनसक्ने बताइएको छ।

वाइबा विभिन्न युट्युबका अन्तर्वार्तामा देखिने गरेकी छन्। उनी पटकपटक विवादमा आउने गरेकी छन्। पवन खतिवडा पनि यसअघि सट्टेबाजी प्रचार गरेको आरोपमा पक्राउ परेका थिए।