काठमाडौं := चलचित्र ‘महाजात्रा’ नेपालसहित विश्वभर एकसाथ प्रदर्शन हुने भएको छ । षट्कोण आर्टसले निर्माण गरेको ‘जात्रा’ शृंखलाको तेस्रो भाग ‘महाजात्रा’ नेपाल र भारतबाहेकको प्रदर्शन र वितरणको अधिकार खरिद गरेको एमएसएम इन्टरटेन्मेन्टस्ले प्रदर्शनका लागि वितरण गर्दैछ ।
उक्त कम्पनीका अनुसार संयुक्त राज्य अमेरिका र क्यानाडामा नाम्लो इभेन्ट्स र कोसेली कोलोराडो, मिडलइष्ट अन्तर्गतका देशमा कन्सेप्ट भिजन र सुप्रिम फिल्म प्रोडक्सन एण्ड डिस्ट्रिव्युसन, युरोपअन्तर्गतका देशमा एनएमटी डेनमार्क, जापानमा आन्वी इन्टरटेनमेन्ट्स, कोरियामा विशाल आवाज मल्टिमिडिया प्राली, न्युजिल्याण्डमा लाखे इभेन्ट्स र अष्ट्रेलियामा स्वयं एमएसएम इन्टरटेनमेन्टस् र रोटे पिङले फिल्मलाई वितरण र प्रदर्शन गर्दैछ ।
आपतकालीन रूपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसमे निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने ‘महाजात्रा’ मा लेखन तथा निर्देशन प्रदीप भट्टराईको छ । चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायतको अभिनय छ ।
म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल चलचिको निर्माता हुनुहुन्छ । यसमा जितबहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायांकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल संगीतकार, शमशेर लामा शृंगार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर, अनिल खड्का मुख्य सहायक निर्देशक हुनुहुन्छ ।
नेपाली चलचित्रको बजार विस्तार र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका एमएसएम इन्टरटेनमेन्टस्ले ‘जात्रा’का दुवै शृंखला दर्शकको मन जितेको कारण विश्वभर एकसाथ भव्य रूपमा प्रदर्शन हुने जनाएको छ । उक्त कम्पनिका सञ्चालक छत्र थापाले प्रवासमा रहनुभएका नेपाली दर्शकले निर्देशक प्रदीप भट्टराई, षट्कोण आर्ट्स, रवीन्द्रसिंह बानियाँको समूहलाई अन्यको तुलनामा बढी विश्वास गर्नुका साथै आशावादी रहने गरेको बताउनुभयो ।
‘नेपाल झैँ विदेशमा दर्शकको प्रतीक्षामा रहनुमा जात्राको अघिल्लो शृंखलाले बनाएको ब्राण्डको विश्वसनीयता र सफलता पनि हो’, वितरक बानियाँले भन्नुभयो । विशेषतः विदेशमा मौलिक नेपालीपन बोकेको चलचित्रको बजार बलियो देखिएको छ । सोही कारण एमएसएम इन्टरटेनमेन्टस्ले आगामी लाइनअपमा ‘पुजार सार्की’, ‘घर ज्वाइँ’, ‘रीमै’ जस्ता चलचित्र छन्, जसमा नेपाली मौलिकता र विषयलाई समेटिएको छ ।
चलचित्रका कार्यकारी निर्मातासमेत अभिनेता रवीन्द्रसिंह बानियाँले ‘जात्रा’ शृंखलाको सफलता र दर्शकको प्रतीक्षाले नै ‘महाजात्रा’ तयार भएको बताउनुभयो । ‘हामीलाई दर्शकसँगै समीक्षकमार्फत पाएको प्रतिक्रियाले समेत शृंखलालाई निरन्तर दिन हौसाएको हो’, कार्यकारी निर्माता बानियाँले भन्नुभयो ।




















