लेवनानलाई २-१ गोलले हराउँदै नेपाल वाफ वुमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश।

काठमाडौं := नेपाल पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) वुमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। बुधबार बिहान सम्पन्न खेलमा लेवनानलाई २-१ गोलले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।नेपालका लागि सावित्रा भण्डारी र प्रिती राईले एकरएक गोल गरे ।

खेलको ३८औँ मिनेटमा आत्मघाती गोलमार्फत् लेबनानले अग्रता बनाएको थियो । डिबक्स अगाडीबाट डिफेन्डर पूजा रानाले दिएको ब्याक पास सीधै गोलपोष्टमा प्रवेश गरेपछि लेबनानले आत्मघाती गोल उपहार पाएको थियो ।

खेलमा १–० ले पछि परेको अवस्था उल्टाउँदै सावित्राले खेलको ७६औँ मिनेटमा गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याएकी थिइन् । रोमाञ्चक बनेको खेलमा प्रितीले खेलको अतिरिक्त समयमा सुन्दर गोल गर्दै नेपाललाई २-१ जित दिलाइन् ।

नेपालले अतिरिक्त समयमा कर्नर किक पाएको थियो । विमला चौधरीले प्रहार गरेको कर्नर क्लियर भएपछि बक्स बाहिर पुगेको थियो । प्रितीले बक्स बाहिरबाटै प्रहार गरेको बल गोलमा परिणत भयो ।

अब फाइनलमा नेपालले जोर्डनको सामना गर्ने छ । यसअघि आज नै भएको पहिलो सेमिफाइनलमा प्यालेस्टाइनलाई ५–० गोलले पराजित गर्दै जोर्डन फाइनलमा प्रवेश गरेको थियो । प्रतियोगिताको फाइनल खेल आगामी बिहीबार हुनेछ ।