काठमाडौं:= एसिसी वुमन्स प्रिमियर कपअन्तर्गत नेपालले शनिबार भएको पहिलो खेलमा हङकङलाई आठ विकेटले पराजित गरेको छ । जितका लागि पाएको ९४ रनको लक्ष्य नेपालले १४ दशमलब एक ओभरमा दुई विकेट गुमाएर पूरा गरेको हो । नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ४० रनको योगदान दिनुभयो ।
उहाँले ३३ बल खेल्ने क्रममा एक छक्का र तीन चौका प्रहार गर्नुभयो । यस्तै, सीता रानामगरले अविजित ३६ रन बनाउनुभयो । उहाँले ३८ बल खेल्दै एक छक्का र एक चौका प्रहार गर्नुभयो । कविता कुँवरले चार रन जोड्नुभयो । बलिङतर्फ हङकङकी इक्रा सहर र चान का यिङ क्यारीले एक-एक विकेट लिनुभयो ।
मलेसियाको सेलांगुर टर्फ क्लबमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिनुभयो । हङकङले निर्धारित २० ओभरको खेलमा आठ विकेट गुमाएर ९३ रन बनायो । हङकङका लागि कप्तान चान का यिङ क्यारीले सर्वाधिक २१ रन बनाउनुभयो । उहाँले ३१ बल खेल्ने क्रममा तीन चौका प्रहार गर्नुभयो । यस्तै, मर्यम बिबीले १९, यास्मिन दस्वानीले १५ तथा नताशा माइल्सले ११ रन बनाउनुभयो ।
बलिङतर्फ नेपालकी पूजा महतो र रुविना क्षेत्रीले दुई-दुई तथा कविता जोशी र सीता रानामगरले एक-एक विकेट लिनुभयो । नेपाली टोलीमा इन्दु बर्मा (कप्तान), अप्सरी बेगम, डली भट्ट, कविता जोशी, कविता कुँवर, काजोल श्रेष्ठ, रुविना क्षेत्री, सीता रानामगर, सम्झना खड्का, पुजा महतो र रोमा थापा रहनुभएको छ ।




















