क्वालालम्पुर (मलेसिया):= मलेसियाली अध्यागमन बिभाग (इमिग्रेशन) ले सेलाङ्गर सेरडाङ्गमा अवस्थित एक ठुलो होलसेल थोक बजार (पासार बोरोङ) मा छापामारी , धरपकड गरि अवैधानिक विदेशी श्रमिक पक्राउ गरेको छ ।
शनिबार बिहानैको समयमा पासार बोरोङमा गरिएको अध्यागमन अपरेसनका क्रममा २६ जना महिलासहित जम्मा ५ सय ३० अवैधानिक विदेशी श्रमिक हरुलाई नियन्त्रणमा लिइएको अपरेसनमा सहभागी सेलाङ्गर इमिग्रेसनका निर्देशक खैरुल अमिनस कमरुद्दीनले स्थानीय सञ्चार माध्यमलाई बताए ।
पक्राउ पर्नेहरुमा म्यानमारका २ सय ७७, बंगलादेशका ९४, भारतका ७२, इन्डोनेसियाका ३९, नेपालका १५, श्रीलंकाका ९, पाकिस्तानका ६ र भियतनामका एक जना रहेको स्थानीय राष्ट्रिय सञ्चार माध्यम बर्नामाको रिपोर्टमा उल्लेख छ ।
निर्देशक खैरुल अमिनसका अनुसार पक्राउ परेका ति सबै विदेशी नागरिकसँग स्वदेशमा रहेका वैध कागजात छन् कि छैनन् भनी जाँच गरिएको थियो जसमा “निरीक्षणको नतिजाले धेरैजसो विदेशीहरूले वैध व्यक्तिगत यात्रा कागजातमा त्रुटि गरेको, राहदानीको दुरुपयोग गरेको र समयभन्दा बढी समय बसेको पाइयो,” उनले अपरेसनपछि स्थानीय पत्रकारहरूलाई भने।
पक्राउ परेकाहरुको विरुद्ध मा थप काम कारवाहीको प्रक्रिया अगाडि बढाइएको र चाडैं ति सबै अवैधानिक विदेशी हरुलाई डिपोर्ट गरिने बताए ।



















