काठमाडौं := सर्वोच्च अदालतले हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सुविधा दिन परमादेश जारी गरेको छ । न्यायाधीश डा. मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासले एयरलाइन्सको माग अनुसार रिटमा परमादेश जारी गरेको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका नाममा अदालतले परमादेश जारी गरेको हो। सर्वोच्चले आदेशको पूर्ण पाठ भने सार्वजनिक गरेको छैन। सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले निवेदकको माग दाबी अनुसार परमादेश जारी भएको बताए । उनले भने, ‘सेल्फ ग्राउन्ड ह्यान्डलिङको विवादमा इजलासबाट परमादेश भएको छ ।’
विमान कम्पनीले आफ्नो हकमा ग्राउन्ड ह्यान्डलिङ गर्न पाउने व्यवस्था अनुसार प्राधिकरणले २०७७ असोजमा सुविधा पाएको थियो । तर पर्यटन मन्त्रालयले एयरलाइन्स कम्पनीको प्राविधिक पक्षसमेत विश्लेषण गरेर मात्र निर्णय कार्यान्वयनको निर्देशन प्राधिकरणलाई दिएपछि सुविधा कार्यान्वयन रोकिएको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।



















