आईसीसी यू- १९ विश्वकप २०२४ काे सुपर सिक्समा नेपालको प्रवेश।

काठमाडौं:= शुक्रवार भएको खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै नेपाल आईसीसी यू- १९ विश्वकप २०२४ काे सुपर सिक्समा पुगेको छ ।

नेपाल समूह डी बाट तेस्रो स्थानमा रहँदै सुपर सिक्समा पुगेको हो । जितको लागि १४६ रनको लक्ष्य पच्छ्याएको नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाउँदै  पूरा गर्‍यो ।नेपालको जितमा कप्तान देव खनालले ५८ रनको योगदान दिए। उनले विकेट किपर नुमन साहबाट क्याच आउट हुनुअघि ७ चौका प्रहार गर्दै ५८ रन जोडे।

दीपक बोहराले २७ रन बनाए । ४ चौका प्रहार गरेका दीपकले ४२ बलको सामना गरेका थिए। नेपालले अफगानिस्तानलाई ४०.१ ओभरमा अल आउट गरेको थियो। नेपालका तर्फबाट आकाश चन्दले अफगानिस्तानका महत्वपूर्ण पाँच विकेट लिए।

दिपेश कँडेलले २, गुल्सन झा तथा तिलक भण्डारीले १/१ विकेट लिएका थिए। टस जितेको अफगानिस्तानले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। यसअघिका २ खेलमा हार बेहोरेको नेपाल अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुग्न सफल भएको हो।

नेपाल समूह चरणको पहिलो खेलमा न्यूजिल्याण्डसँग ६४ रन र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो। समूह ए मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका छन् ।

समूह ए बाट आउने शीर्ष तीन टोलीसँगै नेपाल, न्युजिल्यान्ड र पाकिस्तान एउटा सुपर सिक्समा हुनेछन् । नेपालले सुपर सिक्समा समूह एको शीर्ष र दोस्रो टोलीसँग खेल्नेछ ।