काठमाडौं := नेपाल सुपर लिग फुटबलको उपाधिका लागि आज धनगढी एफसी र ललितपुर सिटी एफसीबिच प्रतिस्पर्धा हुने भएको छ । खेल दशरथ रंगशालामा साँझ साँढे ५ बजे सुरु हुनेछ ।
धनगढी एफसी लिग चरणमा दोस्रो हुँदै पहिलो क्वालिफायरमा पुगेको थियो । पहिलो क्वालिफायरमा उसले पोखरा थन्डर्स एफसीमाथि पेनाल्टीमा सनसनीपूर्ण जित हात पारेको थियो ।
ललितपुर एफसीले इलिमिनेटरमा काठमाडौँ रेजर्स एफसीलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो । दोस्रो क्वालिफायरमा उसले पनि पोखरा थन्डर्सलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो ।
धनगढी एनएसएलको पहिलो सिजनको उपविजेतासमेत हो । २०२१ मा सम्पन्न पहिलो सिजनमा धनगढी काठमाडौँ रेजर्ससँग १–० गोल अन्तरले पराजित भएर उपविजेता बनेको थियो ।
त्यस्तै ललितपुर सिटी एफसी भने पहिलो पटक फाइनलमा पुगेको हो । यसअघि पहिलो सिजनमा ललितपुर दोस्रो क्वालिफायरमा काठमाडौँ रेजर्ससँग ३–० गोलले पराजित हुँदै बाहिरिएको थियो ।
उपाधि जित्ने टोलीले ७० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिताको उपविजेता टोलीले २० लाख रुपैयाँ नगद पुरस्कार पाउने छ ।




















