साउदी अरब काम गर्न आउने नयाँ घरेलु कामदारका लागि बिमा कभरेज सुरु।

साउदी अरेबिया := साउदीको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले मुसानेद प्लेटफर्म मार्फत पहिलोपटक साउदी अरब आउने नयाँ घरेलु कामदारका लागि बिमा कभरेज सुरु गरेको छ । मन्त्रालयले घरेलु कामदारको करारमा बिमा सेवा नयाँ वर्षको १ फेबु्रअरीदेखि लागू हुने जनाएको छ ।

घरेलु कामदार भर्नाका लागि करारमा बिमा कभरेज सम्झौता सुरु भएको पहिलो दुई वर्षका लागि हुनेछ । यस्तो बिमा भर्ती कार्यालय वा कम्पनीसँग रोजगारदाताको सम्झौताको प्रक्रियाभित्र हुनेछ । दुई वर्षपछि बिमा कभरेज रोजगारदाताहरूका लागि एक विकल्प हो र उनीहरूले यसलाई विस्तार गर्न वा रद्द गर्न पनि सक्छन् ।

हाल, घरेलु कामदारका लागि बिमा सेवा ‘मुसानेड’का लागि मात्र उपलब्ध छ । मन्त्रालयले यसअघि २०२३ को सुरुदेखि आफ्ना ग्राहकका लागि एक विकल्पका रूपमा यो सेवा सुरु गरेको थियो र आफ्नो घरेलु कामदारका लागि बिमा कभरेज छनोट गर्ने ग्राहकहरूको संख्या १७ लाख ५० हजार पुगेको मन्त्रालयलाई उद्धृत गर्दै साउदी गजेटले जनाएको छ ।

बिमा सेवाले रोजगारदाता र घरेलु कामदारलाई घरेलु कामदारले आफ्नो रोजगारदातासँग काम सुरु गरेको मितिदेखि विभिन्न परिस्थितिमा क्षतिपूर्तिको फाइदा लिन अनुमति दिन्छ । घरेलु कामदार सम्झौतामा बिमा सेवाले रोजगारदाताका लागि धेरै फाइदा प्राप्त गर्न पनि सहयोग पु¥याउँछ । जस्तैः कामदार ड्युटीमा उपस्थित हुन नसकेमा, कर्तव्यबाट भागेको (हुरुब), कामदारको मृत्यु वा असक्तताको घटनामा उनीहरूले भर्ती खर्चको क्षतिपूर्ति पाउनेछन् ।

कर्तव्य पूरा गर्न वा कामदारलाई कर्तव्य पूरा गर्न बाधा पु¥याउने दीर्घकालीन रोगबाट पीडित भएमा, घरेलु कामदारको मृत्यु भएमा शव, व्यक्तिगत सरसामान र अन्य सम्पत्ति फिर्ता लैजाँदा लाग्ने खर्च पनि बिमाले कभर गर्नेछ । बिमा सेवाले घरेलु कामदारको अधिकारको सुरक्षाको ग्यारेन्टी पनि गर्छ । जस्तैः पूर्ण स्थायी असक्तता वा दुर्घटनाको परिणामस्वरूप स्थायी आंशिक असक्ततामा कामदारलाई क्षतिपूर्ति र रोजगारदाताले प्रतिबद्ध नगरेको अवस्थामा उसले क्षतिपूर्ति पाउनेछ ।

घरेलु कामदारको सम्झौताका लागि बिमा सेवा भर्ती क्षेत्रको विकास र घरेलु कामदार तथा रोजगारदाताको अधिकारको रक्षा गर्न मन्त्रालयको प्रयासअनुरूप हुनेछ । साउदीले घरेलु कामदारको ज्यालाको अधिकारको रक्षा गर्न मन्त्रालयले यसअघि घरेलु कामदारका लागि ज्याला संरक्षण कार्यक्रम सुरु गरेको थियो ।

घरेलु कामदार भर्नाका लागि एकीकृत सम्झौता कार्यक्रमले भर्नाका लागि अधिकतम सीमा तोक्नुका साथै करार अधिकारको संरक्षण गर्ने र दुवै पक्षका दायित्व निर्दिष्ट गर्ने सम्झौतामा दुवै पक्षलाई बाध्य पार्ने एक एकीकृत सम्झौता हुनुपर्छ भन्ने व्यवस्था गरेको छ ।

रियादस्थित नेपाली दूतावासका अनुसार साउदीमा महिला घरेलु कामदार १ हजार १२ जना र पुरुष घरेलु कामदारको संख्या १ हजार ७ सय ९२ जना रहेको छ ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ् ।