काठमाडौं := दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’को निर्माण घोषणा गरिएको छ । सविनकुमार तोलांगीको डेब्यु निर्देशन रहने चलचित्रमा आँचल शर्मा, रमेश उप्रेती र सलोन बस्नेत मुख्य भूमिकामा देखिनुहुनेछ । चलचित्रमा सरोज खनाल, मिथिला शर्मा, अर्जुन श्रेष्ठलगायत कलाकारको पनि अभिनय रहनेछ ।
सिम्रन पन्त र मिस पविले यसै चलचित्रबाट अभिनयमा डेब्यु गर्दै हुनुहुन्छ । चलचित्रको माघ पहिलो सातादेखि अष्ट्रेलियाबाट छायांकन सुरु हुने निर्माण पक्षले जनाएको छ । न्युजिल्याण्डमा पनि छायांकन हुनेछ । ७० प्रतिशत छायांकन नेपालमा हुनेछ । निर्देशकसमेत रहनुभएका ऋषि लामिछाने कार्यकारी निर्माता रहेको राजमहलका मुख्य निर्माता शोभा श्रेष्ठ र यशबहादुर गुरुङ हुनुहुन्छ ।
फिल्मको घोषणा गर्न काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यी मिस पवि र सिम्रन पन्तले टिकटकलाई धन्यवाद दिंदै फिल्ममा काम गर्न लागेको जानकारी दिए । ‘अहिलेसम्म सोसल मिडिया र म्युजिकमा मात्र काम गरेको थिएँ,’ मिस पविको नामले चर्चित शाँकीले भनिन्, ‘मलाई आशा गरेर फिल्ममा लिनुभएको छ । राम्रो काम गर्न पाऊँ भन्नेमा आशावादी छु ।’
अर्की टिकटकर सिम्रन पन्त यही फिल्मको लागि मुम्बईदेखि काठमाडौं आएकी छन् । टिकटकले दिलाएको लोकप्रियता देखेर निर्माताले फिल्ममा लिएकोप्रति उनले खुसी व्यक्त गरिन् । उनी भन्छिन्, ‘टिकटक एक प्लाटफर्म मात्र हो । मनोरञ्जनको रुपमा मैले टिकटकलाई लिएर गइरहेको थिएँ । धन्यवाद टिकटक जसले मलाई पपुलारिटी दिएको छ ।’
एक वर्षदेखि मुम्बईमा बस्दै आएकी सिम्रनले त्यहाँ नृत्य र अभिनय सिकेको बताइन् । ‘काम गर्न सक्छु भन्ने आशले यो फिल्ममा जोडिएको छु,’ उनले भनिन् । फिल्ममा उनीहरुको भूमिकाबारे बताइएको छैन । दरबारको कथावस्तुमा बन्न लागेको फिल्ममा सलोन बस्नेत, आँचल शर्मा, रमेश उप्रेती लगायतको अभिनय हुने जनाइएको छ ।



















