आइपिएल इतिहासकै सर्वाधिक महँगो मूल्य २० करोड ५० लाख भारुमा हैदराबादले किन्याे कमिन्सलाई।

एजेन्सी:= सनराइजर्स हैदराबादले अष्ट्रेलियाका तीव्र गतिका बलर प्याट कमिन्सलाई इन्डियन प्रिमियर लिग (आइपिएल) इतिहासकै सर्वाधिक मूल्य २० करोड ५० लाख भारुमा किनेको छ ।

दुबईमा भएको अक्सनमा हैदराबादले २० करोड ५० लाख भारुमा किनेको हो । कमिन्सले न्यूनतम २ करोड भारु राखेका थिए। कमिन्सलाई किन्न हैदराबाद र बेंगलोरबीच कडा प्रतिस्पर्धा भएको थियो। यसअघि गतवर्ष पन्जाब किंग्सले साम करनलाई सर्वाधिक १८ करोड ५० लाख भारुमा किनेको थियो ।

कमिन्सले उनकै कीर्तिमान तोडेका हुन् । कमिन्स अस्ट्रेलियालाई आईसीसी एकदिवसीय विश्वकपको उपाधि चुमाउने कप्तान पनि हुन् । उनकै कप्तानीमा अस्ट्रेलियाले हालै आईसीसी एकदिवसीय विश्वकपको उपाधि जितेको थियो ।

कमिन्सको कप्तानीमा अस्ट्रेलियाले टी–२० विश्वकपको उपाधि पनि जितिसकेको छ । उनले अस्ट्रेलियालाई एसेस शृङ्खला र टेस्ट च्याम्पियनसिपको उपाधि पनि जिताइसकेका छन् । कमिन्स टोलीका अलराउन्डर खेलाडी हुन् ।

उनले हालसम्म अस्ट्रेलियाका लागि ५० वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । उनले टी–२० अन्तर्राष्ट्रियमा ५५ विकेट लिएका छन् भने एक सय १६ रन पनि बनाएका छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा भने ३० वर्षीय यी खेलाडीले चार सय ३८ विकेट लिनुका साथै एक हजार सात सय १७ रन पनि बनाएका छन् ।

कमिन्सले यसअघि पनि आईपीएल खेलिसकेका छन् । उनले हालसम्म आईपीएलको ४२ खेलमा तीन सय ७९ रन बनाएका छन् भने ४५ विकेट पनि लिएका छन् । उनले सन् २०२१ मा कोलकाताबाट आईपीएल खेलेका थिए । त्यतिबेला उनले केवल १४ बलमा अर्धशतक बनाएका थिए ।

सन् २०२० मा भने कमिन्स १५ करोड ५० लाख भारतीय रुपैयाँमा बिक्री भएका थिए । यसपटक अक्सनमा उनको नाम सेट–२ मा परेको थियो । उनको न्यूनतम मूल्य दुई करोड भारतीय रुपैयाँ तोकिएको थियो । यसअघि उनले मुम्बई र दिल्लीबाट आईपीएल खेलिसकेका छ्न ।