मलेसियामा आफ्नै नेपाली साथीको हत्या गरी नेपाल फर्केपछि पक्राउ परे अनिल कुमार शाह।

क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत आफ्नै सहकर्मी एक नेपाली कामदारको हत्या गरेपछि काठमाडौँ फर्केका एक नेपाली युवकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।

मलेसियाबाट नेपाल गएर पक्राउ पर्नेमा महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ घर भएका २४ वर्षीय अनिल कुमार शाह रहेका छन् । मंसिर २५ मा मलेसियामा उनले झापाको शिवसताक्षी नगरपालिका–३ घर भएका ४० वर्षीय धन बहादुर प्रधानको हत्या गरेको आरोप छ । प्रधान र आरोपी एक वर्षदेखि मलेसियामा एउटै कम्पनीमा कार्यरत थिए ।

मृतक प्रधानकी श्रीमतीले प्रहरी परिसरमा जाहेरी दिएकी थिइन्। साहले आफ्नो हुलिया परिवर्तन गरी नेपाल फर्किएको भन्ने सूचना प्रहरीले पाएको थियो। त्यस सूचनाको आधारमा खटिएको टोलीले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।

मलेसियामै कार्यरत मृतकका आफन्तले दिएको सूचनाको आधारमा आरोपीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँको एक प्रहरी अधिकारीले बताए । मुलुकी अपराध संहिताले दिएको बहुक्षेत्रीय अधिकार प्रयोग गरेर प्रहरीले इन्टरपोल मार्फत मलेसियन प्रहरीसँग समन्वय गरेर हत्याको अनुसन्धान थालेको छ ।

आरोपीलाई जिल्ला अदालत काठमाडौँले ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। इन्टरपोल मार्फत मलेसियन प्रहरी र मलेसियास्थित नेपाली राजदूतावाससँग समन्वय गरी थप अनुसन्धान अघि बढाएको छ।

advertise