काठमाडौं := फिफा विश्वकप–२०२६ छनोट चरणको दोस्रो खेलमा आज नेपालले यमनसँग प्रतिस्पर्धा गर्दैछ । समूह ‘एच’ मा रहेका नेपाल र यमनबीचको खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका ७ बजे शुरु हुनेछ । नेपालले घरेलु मैदानमा आज दोस्रो चरणको दोस्रो खेल खेल्न लागेको हो ।
अर्को चरणमा प्रवेशका लागि नेपाली टोलीलाई आज खेल जित्नै पर्ने दबाब छ । फिफा वरीयतामा यमन १५६औँस्थानमा रहेको छ भने नेपाल १७३औँ स्थानमा छ।विश्वकप एसिया छनोटमा नेपाल समूह ‘एच’ मा रहेको छ । नेपाल रहेको समूहमा यूएई, बहराइन र यमन छन् ।
नेपालले दोस्रो चरणको पहिलो खेलमा यूएईसँग ४-० को हार बेहोरेको थियो । यस्तै, बहराइनसँग २–० गोलले पराजित भएको यमन पनि अंकविहीन छ । यो प्रतियोगिता विश्वकप छनोट २०२६ का साथै एएफसी एसियन कप २०२७ का लागि दोस्रो चरणको छनोट पनि हो ।
आजको खेलका लागि एन्फाले साधारण प्यारापिटतर्फको ४ सय र भीआईपी प्यारापिटतर्फको १ हजार रुपैयाँ टिकट दर कायम गरिएको जनाएको छ ।




















