
बिरेयुन (इन्डोनेसिया):= पाँच सयभन्दा बढी रोहिंग्या शरणार्थीले भरिएको तीनवटा डुंगा आइतबार इन्डोनेसियाको सबैभन्दा पश्चिम प्रान्तमा आइपुगेको संयुक्त राष्ट्रसंघीय एजेन्सी (युएनएचसिआर) ले बताएको छ । सन् २०१७ मा म्यान्माद्वारा अल्पसंख्यक रोहिंग्या समूहमाथि सैन्य कारबाही सुरु गरेपछिको यो सबैभन्दा ठूलो आगमनमध्येको एक हो ।
अधिकांश मुस्लिम रोहिंग्याले म्यान्मामा व्यापक उत्पीडनको सामना गर्नुपरेको छ र उनीहरू प्रत्येक वर्ष आफ्नो ज्यानलाई जोखिममा राखेर प्रायः कमजोर डुंगामा मलेसिया वा इण्डोनेसियासम्म पुग्ने प्रयासमा लामो र महँगो समुद्री यात्रा गर्छन् ।
राष्ट्रसंघीय शरणार्थी एजेन्सी संरक्षण सहयोगी फैसला रहमानले एउटा डुंगा आचे प्रान्तको बिरेयुन जिल्लामा २५६ रोहिंग्या लिएर आइपुगेको र अर्को कम्तीमा दुई सय ३९ बोकेर आचेको पिँडी क्षेत्रमा आइपुगेको थियो । त्यस्तै ३६ जना बोकेको अर्को सानो डुंगा पूर्वी आचेमा आइपुगेको थियो ।
‘उनीहरूलाई धेरै स्थानमा पाइएको छ’, उहाँले भन्नुभयो । बिरेयुन डुंगामा सवार दुई सय ५६ मध्ये एक सय १० महिला र ६० जना बालबालिका रहेको उहाँले बताउनुभयो । रहमानका अनुसार त्यो त्यही डुंगा थियो जसलाई स्थानीय बासिन्दाले समुद्रमा धकेलेका थिए । त्यसपछि उक्त डुंगा कयौं दिनसम्म समुद्री तटमा अलपत्र परेको थियो ।
स्थानीय अधिकारीका अनुसार पछिल्लो आगमनसँगै यो एउटै सातामा आठ सयभन्दा बढी शरणार्थी आचे प्रान्तमा आइसकेका छन् । मंगलबार एक सय ९६ र बुधबार एक सय ४७ शरणार्थी आएका थिए ।
युएनएचसिआरका अनुसार दुई हजारभन्दा धेरै रोहिंग्याले सन् २०२२ मा दक्षिणपूर्वी एसियाली मुलुकहरूको जोखिमपूर्ण यात्राको प्रयास गरेका छन् । गत वर्ष खतरनाक समुद्र पार गर्ने प्रयासमा करिब दुई सय रोहिंग्या मारिएको वा हराएको युएनएचसिआरले बताएको छ । रासस/एएफपी ।