कोटेश्वर तेक्वान्दो डोजाङलाई सहयोग स्वरूप खेल सामाग्री प्रदान।

काठमाडौं := दक्षिण एसियाली खेलकुद (साग)का स्वर्णधारी दाजुभाइ निर्मल र निराजन श्रेष्ठको पहलमा कोटेश्वर तेक्वान्दो डोजाङलाई सहयोगस्वरूप खेल सामग्री प्रदान गरिएको छ ।

श्रेष्ठ दाजुभाइले डोजाङका प्रमुख एवं तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठलाई २० लाख रुपैयाँ बराबरको दुई सेट प्रोटेक्टर इलेक्ट्रोनिक सिस्टम एक कार्यक्रमबीच हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा डोजाङका प्रशिक्षक, खेलाडी, तेक्वान्दोको ग्योरोगी, पुम्से र पारा अन्तर्राष्ट्रिय निर्णायक एवं नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष अशोक खड्कालगायतको उपस्थिति रहेको थियो ।

उक्त सामग्री खरिद गर्न दाजुभाइसहित अष्ट्रेलिया बस्ने सक्षमकार्की, रञ्जन श्रेष्ठ, मनोज मल्ल, ज्ञानेन्द्र मल्ल र भुपेन श्रेष्ठ तथामकाउ बस्ने राकेश केसीले सहयोग गर्नुभएको हो । सबै तेक्वान्दो खेलाडी हुन् । मुख्य प्रशिक्षक श्रेष्ठका अनुसार सहयोगी सबै कोटेश्वर तेक्वान्दो डोजाङका उत्पादन हुन् ।

निर्मल र निराजनले पाकिस्तानमाभएको नवौं दक्षिण एसियाली खेलकुदमा स्वर्ण जित्नुभएको थियो । दुवै विगत १८ वर्षदेखि ओमेरिकाको ओरेगनमा बस्दै आउनुभएको छ ।

त्यहाँ पनि उहाँहरूले वान तेक्वान्दो एकेडेमी चलाउनुका साथै मुख्य गरी व्यवसायमा संलग्न हुनुहुन्छ । दुवैले सँगै एसियाली खेलकुद (बुसान एसियाड) खेल्नुभएको थियो। निराजनसँग विश्व तेक्वान्दो च्याम्पियनसिप खेलेको अनुभव छ ।