काठमाडौं := न्युजिल्यान्डलाई हराउँदै भारत आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । हिजो बुधवार राति भएको पहिलो सेमिफाइनल खेलमा भारतले न्युजिल्यान्डलाई ७० रनले हराएर फाइनलमा प्रवेश गरेको हो ।
भारतले दिएको ३ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४८ ओभर ५ बलमा ३ सय २७ रनमा अलआउट भयो । न्युजिल्यान्डका ड्यारेल मिचेलले शतक बनाए । उनी १ सय १९ बलमा १ सय ३४ रन बनाएर आउट भए । यस्तै कप्तान केन विलियमसनले ६९ रन जोडे । बलिङतर्फ भारतका मोहम्मद शमीले ७ विकेट लिए ।
यसअघि मुम्बईकाे वानखेडे स्टेडियममा टस जितेर ब्याटिङ गरेकाे भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ९७ रन बनायाे । भारतका विराट काेहली र श्रेयस अय्यरले शतक बनाए । काेहली १ सय १३ बलमा १ सय १७ र अय्यर ७० बलमा १ सय ५ रन बनाएर आउट भए ।
यस्तै शुभमन गिलले ६६ बलमा ८०, कप्तान राेहित शर्माले २९ बलमा ४७ र केएल राहुलले २० बलमा ३९ रन जाेडे । बलिङतर्फ न्युजिल्यान्डका टिम साउथीले ३ विकेट लिए ।
योसँगै भारतले ४ वर्षअघिको बदला लिएको छ । सन् २०१९ को एकदिवसीय विश्वकपमा म्यानचेस्टरमा भएको पहिलो सेमिफाइनल खेलमा भारतलाई हराउँदै न्युजिल्यान्ड फाइनलमा पुगेको थियो । भारत सन् २०११ पछि पहिलो पटक फाइनलमा पुगेको हो ।
अब भारतले फाइनलमा भोलि बिहीवार कोलकाताको इडेन गार्डेनमा हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ । भोलि अस्ट्रेलिया र दक्षिण अफ्रिका खेल्दैछन् । फाइनल खेल आइतवार अहमदाबादमा हुनेछ ।
विराट कोहलीले तोडे सचिन तेन्दुल्करको कीर्तिमान

त्यस्तै भारतीय क्रिकेट टोलीका ब्याट्सम्यान विराट कोहलीले आफ्नै राष्ट्रका महान् खेलाडी सचिन तेन्दुल्करको कीर्तिमान तोडेका छन् । कोहलीले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५० शतकको कीर्तिमान बनाएका हुन् ।
कोहलीले आईसीसी एक दिवसीय विश्वकपअन्तर्गत बुधबार खेलिएको न्युजिल्यान्डविरुद्धको सेमिफाइनल खेलका क्रममा सचिनको कीर्तिमान तोडेका हुन् ।विश्वकप क्रिकेटको सेमिफाइनलमा उनले बुधबार शतक पूरा गर्दै यसअघि सचिन तेन्दुलकरले बनाएको ४९ शतकको कीर्तिमान भंग गरेका हुन् ।
बुधबार न्युजिल्यान्डविरुद्धको खेलमा शतक बनाएसँगै एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कोहलीको शतक सँख्या ५० पुगेको छ । विराटले दुई सय ९१ एक दिवसीय खेलको दुई सय ७९ पालीमा ५० शतकका अतिरिक्त ७१ वटा अर्धसतक पनि बनाएका छन् ।
सचिनले भने सक्रिय खेलजीवनबाट सन्न्यास लिनुअघि एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ४९ वटा शतक बनाएका थिए । विराटले न्युजिल्यान्डविरुद्धको खेलमा एक सय ६ बलको सामना गरी एक छक्का र आठ चौकाको मद्दतले शतक बनाएका हुन् ।
उनले खेलको ४१।४ ओभरमा न्युजिल्यान्डका बलर लोकी फर्गुसनको बलमा दुई रन लिँदै शतक पुरा गरेका हुन् । कोहलीले बुधबारको शतकसँगै विश्वकप क्रिकेटमा ७०० रन पूरा गर्ने कीर्तिमान पनि बनाएका छन् ।




















