राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तानमा इन्दु बर्मा नियुक्त।

काठमाडौं := राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तानमा इन्दु बर्मा नियुक्त हुनुभएको छ । लामो समयदेखि कप्तान रहनुभएकी रुबिना क्षेत्रीलाई हटाएर इन्दुलाई उक्त जिम्मेवारी दिइएको हो । रुबिना राष्ट्रिय टोलीमा यथावत हुनुहुन्छ ।

हङकङमा हुने चार देश सम्मिलित टी-२० शृंखलाका लागि घोषित राष्ट्रिय टोलीमा इन्दु कप्तान रहेको उल्लेख छ । उपकप्तानको जिम्मेवारीमा विन्दु रावल हुनुहुन्छ । अन्य सदस्यमा सिता रानामगर, अस्मिना कर्माचार्य, काजोल श्रेष्ठ र कन्चन श्रेष्ठ हुनुहुन्छ ।

यस्तै सोमु विष्ट, पूजा महतो, रोमा थापा, संगिता राई, खुसी डंगोल, सम्झना खड्का र सोनी पाख्रिनले पनि राष्ट्रिय टोलीमा स्थान बनाउनुभएको छ। रुबिना करिब एक दशकयता नेपाली महिला राष्ट्रिय टोलीको कप्तान हुनुहुन्थ्यो । हङकङको आयोजनामा नोभेम्बर १५ देखि १९ सम्म हुने चार देशीय टी-२० सिरिज खेल्न टोली त्यसतर्फ प्रस्थान गर्नेछ ।