नेपाली क्रिकेट टोलीको प्रति खेलाडीलाई रु.१३ लाख नगद पुरस्कार दिन सिफारिस गर्ने निर्णय।

काठमाडौं := राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अमेरिका र वेस्ट इण्डिजले २०२४ मा संयुक्त आयोजना गर्ने विश्व कप टी-२० क्रिकेट प्रतियोगितामा छनोट हुन सफल नेपाली क्रिकेट टोलीलाई नगद पुरस्कार सिफारिस गर्ने निर्णय गरेको छ ।

राखेप कार्यकारी समितिका संयोजक राखेपका सदस्य-सचिव टंकलाल घिसिङको अध्यक्षतामा बसेको बैठकले नगद पुरस्कार सिफारिस गर्ने निर्णय गरेको हो । १५ खेलाडी तथा समान एक/एक मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियो गरी जम्मा १९ जनाका लागि दुई करोड चार लाख ७५ हजार रुपैयाँ नगद पुरस्कार सिफारिस गर्ने निर्णय भएको छ ।

प्रतिखेलाडी १३ लाख, मुख्य प्रशिक्षकका लागि तीन लाख ९० हजार, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोका लागि एक लाख ९५ हजार नगद पुरस्कार सिफारिस गरिएको छ । गत आइतबार सम्पन्न आइसिसी पुरुष टी-२० विश्व कपको एसिया क्षेत्र छनोटको फाइनलमा पुग्दै नेपालले विश्व कपमा स्थान पक्का गरेको थियो ।

यस्तै सरकारले दुई अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई मंगलबार पूर्वघोषित नगद पुरस्कार प्रदान गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल, युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू र खेलकुद मन्त्रालयका सचिव रविलाल पन्तले टोलीलाई बालुवाटारमा आयोजित कार्यक्रममा सम्मान गर्दै नगद पुरस्कार प्रदान गर्नुभयो ।