[ रमेश भारती ]
काठमाडौं:= नेपालीहरूको प्रमुख रोजगारदाता देश साउदीसँग सरकारले श्रम सम्झौता गर्न सकेको छैन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०७० सालयता साउदीसँग सरकारीस्तरमा श्रम सम्झौताका लागि छलफल गर्दै आएको छ । तर, दुई देशबीच श्रम सम्झौताका लागि पटक–पटक छलफल भए पनि सहमति जुट्न सकेको छैन ।
हालै साउदी सरकारका मानव स्रोत तथा सामाजिक विकास उपमन्त्री डा. अदनान अल नुआईमसँग साउदीका लागि नेपाली राजदूत नवराज सुवेदी नेतृत्वको नेपाली टोलीबीच श्रक सम्झौताका विषयमा द्विपक्षीय छलफल भएको थियो । तर, नेपाल र साउदीबीच श्रम सम्झौता गर्नका लागि प्रस्तावित मस्यौदाका विषय वस्तुबारे दृष्टिकोण आदानप्रदान मात्र भएको दूतावासले जनाएको छ ।
दुवैबीच श्रम सम्झौताका विषयमा छलफल भए पनि केही विषयमा सहमति गर्न बाँकी भएको दूतावासको भनाइ छ । जनरल वर्कर अर्थात् साउदी श्रम कानुनअनुसार समेटिने कामदार र साउदीले जनरल वर्करसँगै घरेलु कामदारसम्बन्धी सम्झौता पनि गर्न नेपालसँग आग्रह गरेको दूतावासले जनाएको छ । नेपालले घरेलु कामदारका हकमा बेग्लै श्रम सम्झौता हुनुपर्ने अडान राख्र्दै आएको छ । साउदी सरकारले भने, एउटै श्रम सम्झौतामा घरेलु महिला कामदार समेटनुपर्ने प्रस्ताव गरिरहेको मन्त्रालयले जनाएको छ ।
नेपालले खाडीका देश र मलेसिया घरेलु रोजगारीमा कामदार पठाउन रोक लगाएको छ । साउदीसँगको श्रम सम्झौतालाई टुंगोमा पु¥याउने उद्देश्यसहित नेपालबाट वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दहाल लगायतको टोली साउदीको भ्रमणमा छन् । साउदी पक्षसँग वार्ता भएपछि नेपाली टोलीले त्यहाँ कार्यरत नेपाली कामदारले भोगेका समस्याहरूबारे प्रत्यक्ष रूपमा जानकारी लिएको विभागका महानिर्देशक दाहालले जानकारी दिनुभयो ।
नेपाली दूतावासले आयोजना गरेकोे श्रमिकका समस्यासम्बन्धी अन्तरक्रियामा नेपाली टोली सहभागी भएपछि त्यहाँ कार्यरत कामदारका समस्यामा कार्यस्थलमै गएर बुझेको उहाँले बताउनुभयो । ‘साउदी नेपाली कामदारको रोजगारगन्तव्य देश भए पनि श्रम सम्झौता भएको छैन । यहाँ कार्यरत श्रमिकका मुख्य समस्याका बारेमा जानकारी दिएका छौँ । ती विषय पनि श्रम सम्झौता गर्नुअघि छलफल गर्नुपर्छ ।’
उहाँले भन्नुभयो, ‘साउदीको निर्माण क्षेत्रमा आएका कामदार धेरै समस्यामा पर्ने गरेका रहेछन् । यो क्षेत्रमा आएका कामदारले समयमा तलब, बस्न र अन्य सुविधाबाट बञ्चित हुनुपर्ने बाध्यता रहेछ । यो विषयमा पनि साउदीको सम्बन्धित पक्षसँग छलफल गर्नुपर्ने देखियो ।’
अन्तरक्रियामा दूतावाससहित नेपाली महावाणिज्य दूतावास जेद्दा, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ, वैदेशिक रोजगार बोर्ड, गैरआवासीय नेपाली संघ, साउदी अरबमा कार्यरत नेपालका विभिन्न राजनीतिक दलका भ्रातृ संघसंस्था, सामाजिक तथा जातीय संस्थाका प्रतिनिधि सहभागी भएको दूतावासले जनाएको छ ।
बर्सेनि करिब एक लाख २० हजारभन्दा बढी रोजगारीमा नेपाली जाने साउदीसँग नेपालको श्रम सम्झौता छैन । जसकारण साउदी पुगेका हजारौँ नेपाली युवा समस्यामा पर्ने गरेको वैदेशिक रोजगार विभागको तथ्यांकमा छ ।
नेपालसँग श्रम सम्झौता नहुँदा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को मूल्यमान्यता अनुसारको सेवा सुविधाबाट नेपाली कामदार कामदार वञ्चित हुनुपरेको श्रमिकले गुनासो गर्दै आएका छन् । विभागका अनुसार साउदी अरबमा चार लाखभन्दा बढी कामदार कार्यरत छन् । एक दशकयता नौ लाख ६५ हजार कामदार पुगेको विभागको तथ्यांकले देखाउँछ ।
सरकारले गत वर्ष मन्त्रिपरिषद्मार्फत १०३ सय रियाल (करिब ४० हजार रुपैयाँ) भन्दा कममा कामदार नपठाउने निर्णय गरेको थियो । तर, अहिले पनि म्यानपावर कम्पनीले नौ सय रियालमा कामदार पठाइरहेको पाइन्छ । सरकारले साउदी जाने कामदारको पारिश्रमिक घोषणा गरे पनि त्योभन्दा कम पारिश्रमिकमै कामदार जान बाध्य छन् । नेपालबाट क्लिनर, हेल्पर, स्विपर, अफिस व्यवसाय र वाचमेन जस्ता पेसामा काम गर्न साउदी जाने गरेका छन् ।
सरकारले साउदी अरब जाने अर्धदक्ष, दक्ष र व्यावसायिक कामदारको गत वर्ष न्यूनतम् पारिश्रमिक वृद्धि गरेको थियो । तर, नेपाली कामदार भने पुरानै तलबमा काम गर्न बाध्य छन् । पछिल्लो समय मलेसिया रोजगारी प्रभावित भएपछि साउदी दोस्रो गन्तव्य मुलुक बन्न पुगेको छ । गत वर्ष एक लाख २० हजार नेपाली रोजगारीका लागि साउदी पुगेको विभागको तथ्यांकमा छ ।