काठमाडौं := काठमाडौंमा जारी टी-२० विश्वकप एसिया छनोट खेलमा ओमानले नेपालसामु १४६ रनको लक्ष्य दिएको छ ।बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाउन सक्यो ।
नेपालका करण केसीले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले २/२ विकेट हात पारे । गुल्सन झा र अविनाश बोहोराको नाममा एक/एक विकेट रह्यो । समूह ‘ए’ मा नेपाल र ओमान यसअघि नै दुई खेल जितेर सेमिफाइनल पुगिसकेका छन्।

नेपालले पहिलो खेलमा सिंगापुरविरुद्ध ८ विकेट र दोस्रो खेलमा मलेसियाविरुद्ध ६ विकेटको जित निकालेको थियो। ओमानले पहिलो खेलमा मलेसियालाई ३२ रन र दोस्रो खेलमा सिंगापुरलाई २२ रनले हराएको थियो । आजको खेलले समूह विजेताको टुंगो लाग्नेछ ।
समूह ‘ए’ को विजेताले समूह ‘बी’को उपविजेता र समूह ‘ए’को उपविजेताले समूह ‘बी’ को विजेतासँग सेमिफाइनल खेल्नेछन्। समूह ‘बी’ बाट युएई सेमिफाइनल प्रवेश गरिसकेको छ। बाँकी एक टिमको टुंगो आजको खेलबाट लाग्नेछ। एसिया छनोटको फाइनल पुग्ने २ टिमले आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकप खेल्नेछ।




















