बारा:= बाराको कलैयास्थित बाल एकता इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफ (स्वर्णकार) को हत्या प्रकरणमा संलग्न पाँच जना हत्या आरोपीलाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ।
प्रहरीले २२ वर्षीया राधा गुप्तासहित स्थानीय ३४ वर्षीय जामिल अख्तर, कलैया–९ का रियाज अन्सारी, भारतीय नागरिक चन्दन कुमार र अभिनव कुमार राजपुतलाई सार्वजनिक गरेको छ ।
प्रहरीले यस घटनामा मुख्य योजनाकार कलैया उपमहानगरपालिका-६ की २२ वर्षीया राधा गुप्ता रहेको जनाएको छ। उनी बाल एकता स्कुलकी पूर्वलेखापाल समेत हुन्।
सर्राफमाथि गोली प्रहार गर्ने चार जना भने फरार रहेको प्रहरीले जनाएको छ। हत्याको कारण विवाहेत्तर प्रेम सम्बन्ध र रिसिइबीका कारण हत्या गरेको प्रहरीले जनाएको छ।
प्रहरीको अनुसन्धानबाट पक्राउ परेकी राधा गुप्ता तीन वर्षदेखि भारतीय नागरिक मनोज गुप्तासँग प्रेममा रहेको पनि देखिएको जनाएको छ। मनोज पनि विवाहित नै रहेको प्रहरीले जनाएको छ।
यता प्रिन्सिपल स्वर्णकार र राधाबीच पनि सम्बन्ध रहेको देखिएको हो। त्यही विषयलाई लिएर राधा, मनोज र रूपेशबीच विवाद र झगडा भएकाले हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।




















