यूएईलाई १९ रनले हराउँदै यू-१९ प्रिमियर कप क्रिकेटको उपाधि नेपालले जित्यो।

काठमाडौं:= नेपालले यूएईलाई १९ रनले हराउँदै यू-१९ प्रिमियर कपको उपाधि जितेको छ । मंगलबार मलेसियामा जारी खेलमा युएईलाई डकवर्थ लेविस पद्धतिको आधारमा १९ रनले हराउँदै नेपालले उपाधि जितेको हो । जितको लागि १ सय ९८ रनको विजयी लक्ष्य पछ्याएको युएई २६.५ ओभरमा १ सय ७८ रनमा अल आउट भयो ।

यूएईका ध्रुव परशरले ५९, आर्यान्स शर्माले ३२, कप्तान आयन अफ्जल खानले ३०, ययिन किरण राईले १७ रन बनाए । नेपालका आकाश त्रिपाठीले ५ ओभरमा ३६ रन खर्चेर ४ विकेट लिए । सुवास भण्डारीले ३ विकेट लिए ।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर यूएईलाई २८१ रनको लक्ष्य दिएको थियो ।

नेपालको जितमा देव खनालले ९२ बलमा ९ चौका र ३ छक्कासहित सर्वाधिक १ सय रनको शतकीय इनिङ खेलेका थिए ।ओपनर अर्जुन कुमाल ७८ बलमा ४ चौकासहित ५५ रनमा आउट भए । युएईका तीव्र गतिका बलर हरित शेठ्ठीले ८ ओभरमा ४५ रन खर्चेर सर्वाधिक ५ विकेट लिए ।