आईसीसी एकदिवसीय विश्वकप क्रिकेट–२०२३ मा अस्ट्रेलियाको पहिलो जित।

काठमाडौं:= अस्ट्रेलियाले आईसीसी एकदिवसीय विश्वकप क्रिकेट–२०२३ मा पहिलो जित हात पारेको छ।सोमबार लखउनमा भएको खेलमा अस्ट्रेलियाले श्रीलंकामाथि ५ विकेटको जित हात पारेको हो।

श्रीलंका भने लगातार तेस्रो खेलमा पराजित भयो।श्रीलंकाले दिएको २ सय १० रनको सामान्य लक्ष्य अष्ट्रेलियाले ३५ दशमलव २ ओभरमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो ।

जोश इग्लिसको ५८ रनको इनिङ्समा मिचेल मार्सले ५२ रनको योगदान गरे । मार्नस लाबुशेनले ४०, ग्लेन म्यासवेल र मार्कोस स्टोनिसले अविजित क्रमश ३१ र २० रनको योगदान गरे । श्रीलंकाका दिलशान मदुशंकाले सर्वाधिक ३ विकेट लिए । डुनिथ वेललेजले एक विकेट हात पारे ।

सुरुआती ब्याटिङ गरेको श्रीलंका ४३ दशमलव ३ ओभरमा २ सय ९ रनमा समेटिएको थियो । अष्ट्रेलियाले तेस्रो खेलमा पहिलो जित दर्ता गरेको हो । उसले ३ खेलबाट २ अंक जोडेको छ । श्रीलंकाले हारको श्रृङ्खलामा ह्याट्रिक गरेको छ ।