काठमाडौँ:= विदेशमा रहेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता गराउँदा आफू नेपाली मूलका विदेशी नागरिक नरहेको स्वघोषणा गर्नुपर्ने भएको छ । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यविधि–२०८० मा यस्तो व्यवस्था गरेको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कार्यविधिको मस्यौदामाथि सुझावका लागि खुला गरिएको जानकारी दिँदै कात्तिक मसान्तभित्र आएका सुझावमाथि छलफल गरेर अन्तिम रूप दिने बताउनुभयो । मस्यौदामा रहेको व्यवस्था परिमार्जन वा सुधार्न नेपाली नागरिक, गैरआवासीय नेपाली सङ्घ तथा अन्य सरोकारवालालाई आग्रह गरिएको छ । मस्यौदाको अनुसूची १ मा स्वघोषणाको व्यवस्था गरिएको छ । जसबमोजिम नामावली दर्ता गर्ने क्रममा आफू नेपाली नागरिक रहेको र नेपालको नागरिकता त्याग गरेको तथा रद्द नभएको स्वघोषणा गर्नुपर्ने छ ।
विदेशमा रहेका नेपाली नागरिकले मतदानको अधिकार पाउनुपर्ने मागलाई सम्बोधन गर्न आयोगले पहलकदमी लिँदै कार्यविधि बनाएर नामावली दर्ता गर्ने तयारी गरेको छ । प्रवक्ता पौडेलले भन्नुभयो, “पहिलो चरणमा विदेशस्थित कूटनीतिक नियोगको सहयोग र समन्वयमा नामावली दर्ता गर्ने काम हुने छ ।” कार्यविधिले गरेको प्रस्तावबमोजिम मतदाता नामावली दर्ता गर्ने प्रयोजनका लागि कूटनीतिक नियोगको कार्यालयमा दर्ता स्थल राखिने छ । नियोगले नाम दर्ता अधिकारी र दर्ता कर्मचारी तोक्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्ने छ ।
आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यविधि, मतदाता नामावली दर्ता तथा अद्यावधिक र निर्वाचन शिक्षा कार्यविधिमाथि सुझाव तथा टिप्पणीका लागि परराष्ट्र, सङ्घीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाएको थियो । प्रवक्ता पौडेलका अनुसार तीन वटै मन्त्रालयबाट सुझाव र सहमतिसहितको कार्यविधि आइसकेको छ ।
यो समाचार गोरखापत्र दैनिकमा छ ।




















