विदेशमा श्रम गरिरहेका हरेक नेपालीलाई दु:खमा साथ सहयोग दिनेछु: प्रबिन गुरुङ।

क्वालालम्पुर := गैरआवासीय नेपाली संघ (एनआरएनए)का आईसीसी सचिव प्रविन गुरुङ विदेशमा रहेका नेपालीहरूको समस्या कसरी समाधान गर्न सकिन्छ भनेर लागि परेका छन ।

आगामी महाधिवेशनमा उपमहासचिवको उम्मेदवार रहेका उनी विश्वमा रहेका नेपालीको समस्या र ती समस्यासँग एनआरएनए कसरी जुध्न सक्छ वा एनआरएनएले कसरी समाधान गर्न सक्छ भन्ने उपायहरूको अध्ययन गरिरहेका छन । कतारलाई कर्मभूमि बनाएका गुरुङ एनआरएनए भित्र लोकप्रिय युवा नेतृत्वका रुपमा चिनिन्छन ।

‘एनआरएनए भनेको विदेशमा रहेका ७० लाखभन्दा बढी नेपालीहरूको प्रतिनिधित्व गर्ने संस्था हो । हामी एनआरएनहरूको ध्यानै देशलाई अलिकति भए पनि कसरी अगाडि बढाउन सक्छौं र विदेशमा रहेका नेपालीहरूका समस्यासँग कसरी जुध्न सक्छौं भन्ने नै हो,’ गुरुङ भन्छन ।

नेपालमा जन्मिएर कतारलाई कर्मभूमि बनाएका गुरुङ सामाजिक र राष्ट्रिय दायित्वप्रति सदैव संवेदनशील छन । गुरुङले अत्यन्तै कठीन परिस्थितिमा पनि नेपाली समुदाय, संसारभर रहेका प्रवासी नेपालीहरू र नेपाललाई तन, मन र धनले सहयोग गर्दै आएका छन । यससँगै उनी पछिल्लो समय विश्वमा रहेका नेपालीहरूको अवस्था, उनीहरूको आवश्यकता र एनआरएनएले गर्नुपर्ने भूमिकाको विषयमा अध्ययन गरिरहेका छन ।

संसारभर रहेका गैरआवासीय नेपालीहरूको ढुकढुकी बन्न सफल गुरुङ आउँदै गरेको एनआरएनएको चुनावमा उपमहासचिवको उम्मेदवारी दिदै ११ बुँदे घोषणापत्र समेत जारी गरिसकेका छन । उनले जारी गरेको घोषणापत्रमा समेत उनले एनआरएनएलाई गैर राजनीतिक संस्था र सबै विश्वका नेपालीहरूका आशा र भरोसाको संस्था बनाउने विषयलाई मुख्य जोड दिएका छन ।

संघलाई राजनीतिमुक्त संस्था बनाउने र विश्वका नेपालीहरूको साझा तथा भरोसा गर्न लायक संस्था बनाउने उनको प्रमुख उद्देश्य रहेको छ । पछिल्लो समय एनआरएनएमा देखिएको समस्याको जड राजनीतिक भएको उनको बुझाई रहेको छ । राजनीतिमा सैद्धान्तिक कुरामा बहस हुन्छ, सैद्धान्तिक कुरामा मतभिन्नता हुन्छ ।

यो एनआरएनएमा कहीँ पनि सैद्धान्तिक कुरामा फरक मत छैन र हुनु हुँदैन भन्ने गुरुङको भनाइ रहेको छ ।
संघ सक्रिय भएको अवस्थामा देशलाई समेत ठुलो योगदान गर्न सकिने उनले बताए । संघले देशका विभिन्न क्षेत्रमा गरेको लगानी, मुलुकलाई विभिन्न समयमा विपद पर्दा गरेको सहयोगले देश प्रति संस्थाले देखाएको सदासयताको प्रमाण हो । गुरुङ यस्ता खाले सहयोगलाई संघले संगठित रूपमा बढाएर लैजानु पर्ने पक्षमा छन ।

गुरुङ एनआरएनए एनसीसी कतारको सदस्य हुँदै सन २०१५-१७ का उपाध्यक्ष, सन २०१७-१९ मा मिडिलिष्टको डीआरसी, सन २०१९-२१ को आरसी र २०२१-२३ आईसीसी सचिव छन । लामो समयदेखि सामाजिक कार्यका साथै एनआरएनए अभियानमा सक्रिय भूमिका निर्वाह गर्दै आएका गुरुङ आगामी एनआरएनए आईसीसीको उपमहासचिवका हकदार नै हुन ।

गुरुङ गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारको २०२३-२५ कार्यकालको नयाँ कार्यसमिति चयन प्रक्रियामा अहोरात्र लागे। एनआरएनए कतार र त्यहाँको निर्वाचन समितिले समेत चुनाव अगाडि बढाउन नसकेको अवस्थामा गुरुङले मध्यस्थता गरेर निर्वाचन कार्यतालिकादेखि अन्य सबै प्रक्रिया अगाडि बढाउन विशेष भूमिका निर्वाह गरे।


उनले ऊर्जाशील साथीहरूलाई समेत आफ्नो कर्तव्यमा जिम्मेवार हुन प्रोत्साहन गर्दै आएका छन् । नेतृत्वमा हुनुपर्ने गुण र सबैलाई मिलाएर लान सक्ने क्षमता भएका गुरुङ अत्यन्त मिलनसार छन । ‘विभिन्न राजनीतिक विचारधारा राखे तापनि गैरआवासीय नेपाली अभियानभित्र पसिसकेपछि त्यो आफ्नो राजनीतिक सिद्धान्तलाई अलग्गै राखेर देशको समृद्धिको बाटोमा सबैजना मिलेर अगाडि बढ्नुपर्छ । सबैजना नेपालीहरूको हितमा काम गर्नुपर्छ भन्ने भावनाले प्रतिस्पर्धामा आउनुपर्छ’, गुरुङ भन्छन ।

गुरुङले कतार र युएसएमा होटल, रेष्टुरेन्ट तथा अन्य व्यवसाय गर्छन । उनले कोभिडको समयमा कतारमा रहेका नेपालीलगायत अन्य देशमा अप्ठ्यारामा परेका नेपाली र नेपालमा रहेका नेपालीहरूलाई पनि सहयोग गरे । गुरुङ खाडीमा काम गर्न आएका नेपाली मजदुरहरूका अनेकौं समस्यामा एनआरएनए सारथी बन्नुपर्ने बताउँछन् । उनीहरूको समस्या समाधानमा संघ जोडतोडले लाग्नुपर्ने उनी बताउँछन् ।

उनले आफूले उपमहासचिव जितेको अवस्थामा आफू अहोरात्र एनआरएनए अभियानमा सक्रिय हुने र आफूले उठाएका एजेण्डालाई व्यवहारतः पूर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्छन गुरूङ । संस्थागत सुदृढीकरण र शुद्धीकरणलाई प्राथमिकता दिँदै एनआरएनए अभियानलाई अगाडि लैजानुपर्ने धारणा राख्ने गुरुङ निर्वाचित हुने प्राय निश्चीत छ ।