अस्ट्रेलिया गएका फुटबलर विमल एनएसएल खेल्न नेपाल फर्किने।

काठमाडौं:= गत शुक्रबार अस्ट्रेलिया उडेका नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्तीमगर नेपाल सुपर लिग (एनएसएल) खेल्न नेपाल फर्किने भएका छन्। उनले सामाजिक सञ्जालमार्फत आफू नेपाल सुपर लिगमा आइकनिक प्लेयरका रुपमा चितवन एफसीबाट खेल्न लागेकाे जानकारी दिए । विमलले चितवनले आफूलाई ‘आइकोनिक प्लेयर’को रुपमा टिममा राख्दै खेल्ने मौका दिएको धन्यवाद व्यक्त गरे ।

‍विमल राष्ट्रिय फुटबल टिमबाट विदा हुँदै गत साता अष्ट्रेलिया प्रस्थान गरेका थिए । जानुअघि उनले एनएसएलका लागि ललितपुर सिटी एफसीसँग गरेको सम्झौता रद्द गरेका थिए । सो क्लवले उनलाई मार्की खेलाडीका रुपमा अनुवन्ध गरेको थियो । विमलले छोडेपछि उनको स्थानमा अनन्त तामाङलाई ल्याइएको छ ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, “जिन्दगीमा अनेकौँ उत्तरचढाव आउँछन् । उमेरको बड्दो क्रमसँगै जिम्मेवारी र व्यावहारिकपन पनि बढ्ने रहेछ । त्यसैक्रममा आफ्नो र परिवारको उज्ज्वल भविश्य बनाउनको निम्ति आफ्नो प्राणप्यारो देशप्रतिको माया र लगावलाई एकछिन थाँती राखेर अष्ट्रेलिया आउने निधो गरेँ । तर पनि मलाई माया गरेर पुनः मलाई आउँदै गरेको नेपाल सुपर लिगमा आइकनिक प्लेयरको रुपमा फेरि पनि आफ्नो माटोमा खेल्ने सुवर्ण मौका दिनुभएकोमा चितवन एफसीलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । यो अवसर सिर्जना गरिदिनु हुने आदरणीय व्यक्तित्वलगायत मेरा सम्पूर्ण शुभचिन्तकहरुमा हार्दिक नमन टक्र्याउन चाहन्छु । जय नेपाल, जय नेपाली फुटबल ।”