मलेसियामा नेपालीमाझ एकदमै सरल,मिलनसार स्वभाव र सहयोगी शंकरवहादुर पौड्याल।

[ अमन राई/भुमिराज पराजुली ] 

मलेसियामा नेपाली कति होलान ? जो कसैलाई सोध्दा हरेकको मुखबाट फरक उत्तर निस्कन्छ । कामदार, विद्यर्थी, व्यापारी, व्यवसायी, जागिरे, पर्यटक, प्रशिक्षार्थी, अफिसियल आदि ईत्यादी । विभिन्न रुपमा विभिन्न क्षेत्रमा मलेसियामा नेपालीहरुको उपस्थिति रहेको छ ।
वर्षौ भईसक्यो मलेसियामा नेपालीहरुको आवत जावतको क्रम चलेको । कतिले यस कर्मथलोलाई पूर्ण रुपमा सदुपयोग गर्दै आफ्नो उद्देश्यप्राप्ति गरे, कोहि असफल भए, कोहि यसै कर्मभूमिमा आफ्नो जीवनलीला समाप्त पार्न विवश भए । आउने जानेको लेखाजोखा, विवरण सायद कहि कतै राखिएको होला सरकारी तवरमा । यस वर्षौ लामो मलेसियाको नेपाली समाजको सम्बन्धको क्रममा केहि नामहरु भने सधै नेपाली मनमा रहिरहने छन । ति थोरै केहि नामहरु मध्ये एक नाम हो -शंकरवहादुर पौड्याल ।

झण्डै एक दशक अगाडी देखि प्रत्यक्ष रुपमा नेपाली समाजमा निःश्वार्थ समाजसेवा गर्दै आउनु भएका शंकरवहादुर पौड्याल नाम जस्तै सधै सरल र सक्रिय हुनुहुन्छ । सन् १९५७ ताका नेपालकै गुल्मी जिल्लाबाट जागिरको सिलसिलामा बुवा कणर्वहादुर पौड्याल मलेसिया छिरेपछि शंकरवहादुर मलेसियामै जन्मिनु भयो। पढाई लेखाई सकेर जागिरे जीवनको अन्तिम समयतिर आईपुग्दा सम्म पनि उहाँमा नेपाल र नेपाली प्रतिको चासो, माया अलिकति पनि घटेको छैन जति चासो र माया उहाँ सानो हुँदा बुवाले नेपालको बारेमा सुनाउदा हुन्थ्यो । उहाँको मनमा बुवाको एउटा वाणी सधै गुत्तिजरहन्छ, -आफू जति धनी भएपनि, जुनसुकै ठाउँमा पुगेपनि नेपालीलाई सधै माया गर्नु, सहयोग गर्नु ।
त्यो नेपालको माया र नेपाली प्रतिको साइनो सधै शरल र सहज रुपले लिएर सधै नेपालीहरुसँगको सामिप्यतालाई मनपराउने शंकर सरको बारेमा हामीले यस आलेख तयार पारेका छौ ।

वाल्यकाल :  
सन् १९५९ मा मलेसियाको क्यामरुन हाईल्याण्डमा शंकरवहादुर पौड्यालको जन्म कणर्वहादुर पौड्याल र लीलावती पौड्यालबाट तेश्रो सन्तानको रुपमा भएको हो । उहाँ पछि दुई जना भाईहरु पनि जन्मे भने उहाँ माथिका दुई जना दिदीहरु हुनुहुन्छ । ६ वर्षको उमेरमा क्यामरुनकै क्याथोलिक स्कुलबाट औपचारिक स्कुल सुरु गरेका शंकर सरले १७ वर्ष सम्म उच्च मा.वि.तहसम्म क्यामरुनमै पढ्नु भयो । परिवारको संख्या ठुलो भएपनि बुवाको एक्लो कमाईले मात्र घर व्यवहार चलिरहेको थियो । घरव्यवहार चले पनि घरको बढ्दो खर्च धान्न उहाँलाई बुवाले पढाई छाडेर जागिर खान सल्लाह दिनु भयो ।

तर, उहाँलाई पढ्ने हुटहुटिले छाडेको थिएन । त्यसैले बुवाको सल्लाहलाई नकारेर उहाँ पढाई अगाडी बढाउन र राम्रो शिक्षा हासिल गरेर जागिर खान आफ्नो जन्मथलो क्यामरुन हाईल्याण्ड छाडेर क्वालालम्पूर छिर्नु भयो ।
घरमा आमा छोराछोरीहरुको स्याहार सुसारमै दिन बिताउनु हुन्थ्यो । दिदीहरु बिस्तारै बढ्दै गएको भएता पनि घरमा बुवाले बाहेक कसैले जागिर खाएका थिएनन् । शंकर सरको बुवा भने छोराहरु पनि अलि ठुला भएर कमाउन सघाउन भन्ने चाहनुहुन्थ्यो भने घर बाहिर छोरीहरुलाई काम गर्ने खासै अनुमति थिएन ।

जागिरे जीवन तथा युवा अवस्था : 

आफ्नो सपना पूरा गर्नको लागि परिवार र बुवाको आग्रहलाई चटक्कै छाडेर क्वालालम्पूर छिर्नुभएका शंकर सरलाई क्वालालम्पूर बसाई भने खासै गाह्रो भएन । सुरुका दिनमा रिजन होटलमा रिसेप्सनिस्टको काम गरेपछि क्वालालम्पूरकै मलाया युनिभर्सिटिमा पढाईलाई निरन्तरता दिनु भयो । होटलमा कमाई राम्रै भएपनि लामो समय दिनु पर्ने भएपछि पढाईलाई असर पर्ने र आफ्नो लक्ष्य पनि होटलमा काम गर्ने नभएपछि अन्तै अलि व्यवस्थित जागिरको खोजिमा लाग्नु भयो ।

भाग्यवस स्थानिय पत्रिकामा नयाँ खुल्न लागेको ब्राजिल एम्बेसीको लागि स्थानिय कोटा खुलेको देखेपछि उहाँले निवेदन हाल्नु भयो । पोर्चुगिच भाषामा केहि दख्खल भएको र उहाँलाई मनपर्ने भाषा माध्यम पोर्चुगिच भाषा पनि पर्ने भएकोले उहाँले उक्त जागिर पाउनु भयो । त्यो जागिर नै उहाँको जिन्दगीको यात्रा बनेर अहिलेसम्म रहिरहेको छ ।

एम्बेसीको जागिरले उहाँ र उहाँको परिवारमा खुशीको बहार नै ल्यायो । ब्राजिलियन एम्बेसीकै पहलमा उहाँले पोर्चुगलमा गएर एक महिनासम्म पोर्चुगिज भाषा अझ मजाले सिक्न पाउनु भयो । आफूले रुचाएको विषय भएको हुनाले उहाँ चाँडै नै पोर्चुगिच भाषा लेख्न र राम्ररी बोल्न सक्ने हुनु भयो । जीवनमा सधैका सरल शंकर सर ब्राजिलियन एम्बेसीमा पनि रुचाईएका कर्मचारी मध्येमा पर्नु भयो ।

ब्राजिलियन एम्बेसीले उहाँलाई चाँडै नै स्थानिय कर्मचारी बनायो ‘ट्रेड अधिकृत’ को रुपमा । सँगसँगै उहाले यूनिभर्सिटिको पढाई पनि सिध्याउन भ्याउनु भयो । उहाँको जागिरे जीवनप्रतिको ईमान्दारीता र कर्तव्यनिष्टका फलस्वरुप ब्राजिल सरकारले ‘ओर्डेम डे रियो ब्रान्को’ सम्माननिय पदकले बिभूषित गरेको छ ।

वैवाहिक जीवन : 

जागिर र पढाईले एउटा लय समातेपछि शंकर सरलाई परिवारबाट विवाहको लागि दबाव आउन थाल्यो । त्यस समयमा उहाँको परिवारमा ठ्याक्कै नेपालको परम्परागत रितिरिवाज कायमै थियो । उहाँको बुवा सँगसँगै जस्तो मलेसिया छिरेका मिनवहादुर कार्की शंकर सरको बुवाको साथी हुनुहुन्थ्यो । कुरै कुरामा आफ्नो छोराको विहे साथीको छोरी तारा कार्कीसँग गराई दिने कुरा चलेछ । शंकर सर बुवाको कुरा काटीहाल्ने अवस्थामा हुनुहुन्थेन । शंकर सर र तारा विच बेलाबखत भेटघाट भईहरन्थ्यो, कतै कुनै अवसरहरुमा ।

यसैविचमा लगभग ३० वर्षको उमेर पुगेपछि सन् १९८७ मा शंकरवहादुर पौड्याल र तारा कार्की विच नेपाली परम्परा अनुसार विवाह सम्पन्न भयो । विवाह भएको एक वर्षपछि जेठी छोरी नीता पौड्यालको जन्म भयो । जेठी छोरीको पनि यसै वर्ष विवाह भएको छ स्थानिय तर नेपाली मुलका युवासँगै । जसमा सबैभन्दा खुशी हुनुहुन्छ शंकर सर । उहाँको मनमा सधै एउटा डर लागि रहन्थ्यो -मेरा छोरीहरुले नेपाली श्रीमान नरोज्लान । तर, जेठीछोरीले उहाँको डर हटाई दिए । त्यसैगरि कान्छी छोरी रीनाले पनि भर्खरै स्नातक तह अध्ययन पूरा गरेकी छिन ।
अवको उद्देश्य : 

शंकर सर केहि समय अगाडीसम्म साह्रै व्यस्त हुनुहुन्थ्यो। अफिसबाट काम सकेर निस्कने बित्तिकै अथवा कहिले काहि अफिसको काम नै छाडेर उहाँले एनआरएनए मलेसियाको लागि धेरै खट्नु भयो । ९ वर्षसम्म एनआरएनएमा अध्यक्ष भएर चलाउनु भएका शंकर सरलाई नेपालीहरुसँग यतिका लामो समय मिलेर काम गर्न पाउँदा साह्रै खुशी लागेको छ । सानो छदा बुवाले नेपाल र नेपालीको विषयमा गर्ने गरेको वणर्न आफैले भोग्न र देख्न पाउदा खुशी अनुभव गर्नु हुन्छ र भावुक हुदै भन्नु हुन्छ,- ‘धेरै नेपालीहरुसँग मिलेर काम गर्ने मौका पाएँ, कति नेपाली मनै देखि साच्चिकै समाजसेवी भावनाको पाएँ भने कति अगाडी बोल्ने मात्र काम गर्ने बेलामा पछाडी हट्ने पाएँ तर जति नेपालीसँग काम गरेँ सबैलाई हृदय देखि माया गर्छु ।’

अव उहाँ एनआरएनएको कार्यकारी समितिमा हुनुहुन्न । एनआरएन केन्द्रिय समिति संरक्षक / सल्लाहकार हुनुहुन्छ । त्यसैले अव खासै व्यस्त हुनुपर्दैन । अवको अफिस पछिको समय उहाँले परिवारलाई नै दिनु हुन्छ । अवको चार, पाँच वर्षपछि भने उहाँको अफिसबाट पनि अवकास हुदैछ । त्यसपछि उहाँले आफ्नो छुट्टै कार्यतालिका, योजना बनाउनु भएको छ । जीवनको तेश्रो खण्डमा प्रवेश गर्न तयार भविश्य प्रति अलिक उत्साहित हुदै भन्नु हुन्छ,- म रिटायर्ड भएपछि नाती नातिनी खेलाएर बस्ने मन छ, त्यसपछि नेपालीहरुसँग सामाजिक काम गर्ने योजना पनि छ । अन्य पनि थुप्रै योजना छन ।

साभार : गन्तव्य (चो:त्लुङ) मासिक, २०७२ चैत्र