चर्चित अमेरिकन रेष्टुरेन्ट ब्राण्ड केन्नी रोजर्स रोस्टर्स (केआरआर) नेपाल भित्रियो।

काठमाडौं:= चर्चित अमेरिकन रेष्टुरेन्ट ब्राण्ड केन्नी रोजर्स रोस्टर्स (केआरआर) नेपाल भित्रिएको छ । काठमाडौंको दरबारमार्गस्थित ‘दरबार मल’मा केन्नी रोजर्स रोस्टर्सको आउटलेट सञ्चालनमा आएको हो । गुल्मेली दुर्ई युवा व्यवसायी चन्द्रबहादुर थापा र लोकेन्दर महतराले अमेरिकन रेष्टुरेन्ट ब्राण्ड नेपाल भिœयाउनुभएको हो ।

गुण ग्रुपले सञ्चालन गरेको दरबार मलको दोस्रो तलामा रहेको रेष्टुरेन्टबाट दरबारमार्गका गतिविधिसमेत नियाल्न सकिन्छ । केन्नी रोजर्सको स्ट्याण्डर्डमा रेष्टुरेन्ट सञ्चालनमा ल्याउन करिब तीन करोड रुपैयाँ लगानी लागेको सञ्चालक थापाले बताउनुभयो । दुर्ई हजार वर्गफिटमा फैलिएको रेष्टुरेन्टले एकैपटक ७० जनासम्मलाई सेवा प्रदान गर्न सक्ने सञ्चालकले बताएका छन् ।

सञ्चालकका अनुसार ‘वुडन आर्किटेक’ डिजाइनमा तयार पारिएको रेष्टुरेन्टमा पुग्ने ग्राहकले परम्परागत मौलिक र आधुनिक शैलीको फ्युजन महसुस गर्न सक्नेछन् । वुडन थिमले रेष्टुरेन्टलाई थप आकर्षक बनाएको छ ।

चर्चित अमेरिकी गायक केन्नी रोजर्स र केन्टकी फ्राइड चिकेन (केएफसी)का पूर्वसिइओ तथा अमेरिकाको केन्टकी राज्यका पूर्वगभर्नर जोन वाइ व्राउन (जुनियर) ले सन् १९९१ मा केन्नी रोजर्स रोस्टर्स रेष्टुरेन्ट सञ्चालनमा ल्याउनुभएको थियो । हाल केन्नी रोजर्स रोस्टर्सले एसिया प्यासिफिक क्षेत्रमा आक्रामकरूपमा आउटलेट विस्तार गरिरहेको छ । नेपालमा स्वादिला परिकार खोज्दै रेष्टुरेन्ट धाउनेहरू बढ्दै गएकाले नयाँ स्वाद पस्किन अमेरिकी ब्राण्डलाई नेपाल भित्र्याएको सञ्चालकले बताएका छन् ।’

रेष्टुरेन्टले चिकेन परिकार बनाउन फ्रान्स र जर्मनीबाट आधुनिक मेसिन ल्याएको छ । रेष्टुरेन्टका मुख्य परिकारमा तेल नहाली पकाइने मेसिन रोस्टेड होल चिकेन, फ्राइड र अनफ्राइड (ओएमजी) चिकेन, पिज्जा स्वादको स्यान्डविच, फिस वर्गरलगायत रहेका छन् ।-