विश्व कीर्तिमान बनाउने खेलाडी दीपेन्द्र र कुशललाई जनही दुई लाखसहित सम्मान गर्ने

काठमाडौं := सागर डिस्ट्रिलरीको रोयल ब्लुले एसियन गेम्सको क्रिकेटमा विश्व कीर्तिमान बनाउने दुई खेलाडीलाई जनही दुई लाखसहित सम्मान गर्ने घोषणा गरेको छ । सागर डिस्ट्रिलरीले बिहीबार विज्ञप्ति जारी गर्दै टी-ट्वान्टी क्रिकेटमा विश्व कीर्तिमान बनाउने कुशल र दीपेन्द्र सिंह ऐरीलाई जनही दुई लाख रुपैयाँसहित सम्मान गर्ने बताएको छ ।

कुशल र दीपेन्द्रको कीर्तिमानी प्रदर्शनमा नेपालले एसियन गेम्स क्रिकेटमा भियतनामविरुद्ध ऐतिहासिक जित दर्ता गरेको थियो । दीपेन्द्रले नौ बलमा अर्धशतक प्रहार गर्ने विश्व कीर्तिमान कायम गर्नुभएको थियो भने कुशलले सबैभन्दा चाँडो शतक प्रहार गर्ने कीर्तिमान कायम गर्नुभएको थियो ।

रोयल ब्लुका ब्राण्ड हेड ऋतिक शाहीले विज्ञप्तिमार्फत् भन्नुभएको छ, ‘कुशल र दीपेन्द्रले क्रिकेट मैदानमा गरेको असाधारण उपलब्धिका लागि हामी अत्यन्तै गर्व गर्छौँ । उनीहरूको उल्लेखनीय प्रदर्शनले नेपालको महिमा मात्र भएको छैन, क्रिकेटका उत्साहीहरूको एक पुस्तालाई पनि प्रेरित गरेको छ । पूर्णता र उत्कृष्टतामा समर्पित ब्राण्डका रूपमा रोयल ब्लु उनीहरूको उत्कृष्ट रेकर्डलाई सम्मान गर्न पाउँदा खुसी छ ।’