मलेसियामा प्याकिङको काममा महिनाको ६० हजार रुपैयाँ कमाइ हुने प्रलोभन देखाएर ३ लाख ठगी गर्ने पक्राउ।

क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको निम्ति मलेसिया पठाइदिन्छु भन्दै रु.३ लाख रुपैयाँ ठगी गर्ने एक जना नेपालीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।डोटीको शिखर नगरपालिका २ घर भई अहिले काठमाण्डौको सेतो पुल बस्ने ३२ वर्षका धनबहादुर बोगटीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

उनले कृष्णबहादुर बोगटीलाई वैदेशिक रोजगारीमा मलेसिया पठाइदिने भन्दै तीन लाख रुपैयाँ लिएका थिए । मलेसियामा प्याकिङको काममा महिनाको ६० हजार रुपैयाँ कमाइ हुने प्रलोभन समेत देखाएका थिए । तर तीन लाख रुपैयाँ रकम हात परेपछि धनबहादुर सम्पर्कविहीन भएका थिए ।

रकम ठगेर फरार भएपछि कृष्णबहादुरले वैदेशिक रोजगार विभागमा उजुरी दिनुभएको थियो । विभागले गरेको पत्राचारको आधारमा धनबहादुरलाई पक्राउ गरी वैदेशिक रोजगार विभागको कार्यालय ताहाचल पठाइएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।