बेन्गाजी, (लिबिया):= भूमध्यसागरमा आएको ड्यानियल आँधीका कारण लिबियामा मुसलधारे वर्षासँगै बाढीको प्रकोप हुँदा १५० जनाको मृत्यु भएको एक जना सरकारी अधिकारीले बताएका छन् ।
लिबियाको बेन्गाजीस्थित प्रशासनका प्रवक्ता मोहम्मद मसुदले डेर्ना, जबल अलअख्दार क्षेत्र र अलमर्जको उपनगरमा आँधी ड्यानियलले पारेको मुसलधारे वर्षासँगै आएको बाढीमा परी कम्तीमा १५० जनाले ज्यान गुमाएका बताउनुभयो ।
‘यो मानवीय क्षतिबाहेक सार्वजनिक एवं निजी सम्पत्तिको पनि व्यापक विनाश भएको छ’, उनले एएफपी संवाददातालाई सुनाउनुभयो । प्रधानमन्त्री ओसामा हमाद उद्धार समितिका प्रमुख र अन्य मन्त्रीहरू बाढीबाट भएको क्षतिको मूल्यांकन गर्न डेर्ना पुगेको बताएका छन् ।

त्रिपोलीमा संयुक्त राष्ट्रसंघको मध्यस्थतामा गठन भएको अन्तर्राष्ट्रिय मान्यता प्राप्त संक्रमणकालीन प्रशासनको प्रतिद्वन्द्वी हमादको सरकारले सोमबार डेर्नालाई प्रकोपग्रस्त क्षेत्र घोषणा गरेको छ ।
उद्धारमा खटिएका नौजना सैनिक जवान सम्पर्कविहीन भएका छन् पूर्वी लिबियामा आइतवार आँधीले जबल अल-अख्दारको भेगमा व्यापक क्षति गरेको छ ।
केही दिनअघि डेनियल आँधीका कारण ग्रीस, टर्की र बुल्गेरियाका केही भागमा मुसलधारे वर्षा हुँदा २७ जनाको मृत्यु भएको थियो । रासस /एएफपी ।




















