बालेन पत्नी सविनालाई इमर्जेन्सी अस्पताल पुर्याउन प्रयोग भएको थियो महानगरको गाडी।

काठमाडौं := शनिबार काठमाडौँ महानगरको गाडी ट्राफिक प्रहरीले रोकेको प्रसङ्ग यतिबेला समाजिक संजालमा व्यापक चर्चामा छ । आफ्नी श्रीमतीलाई अस्पताल लगिरहेको आफ्नो गाडीलाई प्रहरीले रोकेर अनावश्यक केरकार गरेपछि बालेनले झोंकमा नेपाल सरकारलाई गाली गरेर स्ट्याटस लेखेका थिए ।

‘बिरामी मान्छेलाई अस्पताल पुर्याउन एम्बुलेन्सका रुपमा महानगरको गाडी प्रयोग गर्दा के गल्ती भयो र ?’ बालेन निकटहरुको दाबी छ, ‘यस्तो बेला बालेनको ठाउँमा जो भए पनि उ आक्रोशित हुनु स्वाभाविक हो’ बालेनपत्नी सविना काफ्लेले छोरीलाई जन्म दिएको उनको परिवार स्रोतले पुष्टी गरेको छ ।

‘आजको लागि केही भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहरदरबार आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’ भन्दै उनले लेखेको स्ट्याटसको अहिले आलोचनासमेत भईरहेको छ ।

कतिपयले उनी श्रीमतीसँग दर खान हिंडेकाले प्रहरीले रोकेकोसमेत दाबी गरे । तर बालेन र उनकी पत्नी शनिबार बेलुकी अस्पताल गएको र सो बेला बालेनकी पत्नी प्रसव पीडामा रहेको खुलासा भएको छ ।

यसो त प्रहरीले उनलाई शनिबार सरकारी गाडी किन चलाएको र यसको अनुमति छ कि छैन भनेर सोधेको भने हो । सरकारी गाडी रोकेर कहाँको गाडी, गाडीमा को छन् ? भनेर सोधखोज मात्रै गरेको चेकिङमा खटिएका प्रहरीको भनाई छ ।

तर बालेन, उनकी श्रीमतीसहित अन्य केहि एमरजेन्सी रुपमा अस्पताल हिंडिरहेको थाहा भएपछि गाडी छोडिएको ती प्रहरीको भनाई छ । ‘गाडी केहि स्पीडमा थियो । सरकारी गाडी रोकेर सोधखोज गर्दा ड्राइभरले महानगरको गाडी हो, अस्पताल हिंडेको भन्ने जानकारी दिए । त्यसपछि हामीले छोडिदियौं ।’ ती प्रहरीले भने ।