इंग्लिस क्लब म्यानचेस्टर सिटीले युइएफए सुपर कपको उपाधि जित्यो।

एजेन्सी := इंग्लिस क्लब म्यानचेस्टर सिटीले युइएफए सुपर कपको उपाधि जितेको छ । स्पेनिस क्लब सेभियालाई पेनाल्टीमा पाँच-चारले पराजित गर्दै सिटीले उपाधि जितेको हो । ग्रिसको एथेन्समा भएको खेलको निर्धारित समयमा एक-एक गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो । टाइब्रेकरमा सिटीले बाजी मार्‍यो ।

टाइब्रेकरमा सिटीका एर्लिङ ब्राउट हालान्ड, जुलियन अल्भारेज, माटियो कोभासिस, ज्याक ग्रेलिस र केल वाल्करले गोल गर्दा सेभियाका नेमान्जा गुडेल्जले अन्तिम प्रहारमा गोल गर्न सक्नुभएन । त्यसबाहेक उसका लुकास ओकम्पास, राफा मिर, इभान राकिटिच र गोन्जालो मोन्टेल गोल गर्न सफल हुनुभयो ।

त्यसअघि युसुफ एन न्यास्रीको गोलबाट सेभियाले खेलको २५औँ मिनेटमा अग्रता लियो । उहाँले मार्काेस एकुनाको पासमा हेडरमार्फत् गोल गर्नुभएको थियो । सिटीले ६३औँ मिनेटमा बराबरी गोल फर्काउनुभयो । विंगर कोल पाल्मेरले रोड्रीको पासमा बराबरी गोल फर्काउनुभयो ।

गत सिजन तेहोरो उपाधि जितेको सिटीले योसँगै यस सिजनमा पनि पहिलो उपाधि जितेको छ । युइएफए सुपर कप युइएफए च्याम्पियन्स लिग विजेता र युइएफए युरोपा लिग च्याम्पियनबीच हरेक वर्ष प्रतिस्पर्धा हुने गर्दछ ।

सिटी च्याम्पियन्स लिगको तथा सेभिया युरोपा लिगको च्याम्पियन हो । सिटी पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल रहेको थियो । सिटीले गत सिजन च्याम्पियन्स लिगसँगै इंग्लिस प्रिमियर लिग र एफए कप जितेको थियो ।

यता, सेभियाले सातपटक सुपर कपमा खेल्दा एकपटकमात्रै च्याम्पियन बनेको छ । सेभिया सन् २००६ मा च्याम्पियन बनेको थियो । त्यसयता २००७, २०१४, २०१५, २०१६, २०२० र २०२३ मा सुपर कपमा खेले पनि उपाधि जित्न सकेको छैन ।