चलचित्र ‘गदर-२’ ले ऐतिहासिक कमाई गरेर इतिहास रच्यो।

एजेन्सी (मुम्बई):= चलचित्र ‘गदर-२’ ले ऐतिहासिक कमाई गरेर इतिहास रच्न सफल भएको छ । चलचित्र समीक्षक तरन आदर्शले टीवट् गर्दै यसबारे जानकारी दिनुभएको हो । तरनले भन्नुभएको छ, ‘गदर-२ ले १५ अगस्टमा ऐतिहासिक कमाइ गरेको छ ।

चलचित्रले मंगलबार स्वतन्त्रता दिवसको मौकामा ५५ करोड भारुको कमाई गरेको छ । यो मितिमा कुनै पनि भारतीय चलचित्रले यति कमाएको थिएन ।’ गदर-२ चलचित्र ११ अगस्टमा सिनेमाघरमा आएको थियो । चलचित्रले पहिलो दिन शुक्रबार ४०, शनिबार ४३, आइतबार ५१ करोड भारु कमाएको थियो ।

‘गदर–२’ चलचित्रसँगै ‘ओएमजी-२’ पनि रिलिज भएको छ । यो चलचित्रले पनि राम्रै कमाइ गरिरहेको छ । गदर चलचित्र सन् २००१ मा रिलिज भएको थियो र चलचित्रले त्यति बेला शानदार प्रदर्शन गरेको थियो ।

गदर–२ चलचित्रका निर्देशक अनिल शर्मा हुनुहुन्छ र यसमा सनी देओलसँगै अमिषा पटेल, उत्कर्ष शर्माको पनि मुख्य भूमिका छ । ‘म गदर–२ का लागि सुरुदेखि नै डराएको थिएँ । यो हाम्रो एउटा यस्तो चलचित्र हो जसको स्वाद बिग्रियोस् भन्ने म चाहँदैनथेँ’, सनी देओलले हालै एक अन्तर्वार्तामा भन्नुभएको थियो ।

दुई सय करोड क्लबमा

चलचित्र ‘गदर २’ ले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ । गत शुक्रबार रिलिज भएको यो चलचित्र पाँचौं दिनसम्म आइपुग्दा दुई सय करोड क्लबमा प्रवेश गरेको छ । योसँगै चलचित्र ग्लोबल कमाई तीन सय करोड नजिक पुगेको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार चलचित्रको कुल कमाई २२९ करोड भारु रहेको छ। बलिउड हंगामाको रिपोर्ट अनुसार चलचित्रले विश्वभर २९०.५९ करोड भारु कमाइ गरेको छ । यो छिट्टै तीन सय करोड क्लबमा पुग्ने अनुमान गरिएको छ । यो सनी देओलको अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने चलचित्र बनेको छ ।