चलचित्र ‘दान्भी’मा पूजा शर्मा एक्सन अवतारमा।

काठमाडौं := चलचित्र ‘दान्भी’को छायांकन सुरु भएको छ । निर्माण युनिटले काठमाडौंको नैकापमा सेट बनाएर एक्सनको दृश्यबाट चलचित्रको छायांकन सुरु गरेको हो ।

पूजा शर्माको एक्सनको दृश्यबाट चलचित्रको छायांकन सुरु भएको निर्देशक रूपेश तामाङले बताउनुभयो । श्री श्रेष्ठको एक्सन निर्देशन रहेको चलचित्रमा हरि लामा घलेको छायांकन छ ।

रविना थापामगरको कथा रहेको चलचित्रमा पटकथा तथा संवाद संजोग रानाको छ । चलचित्रमा अर्जुन पोखरेलेको संगीत, कविराज गहतराजको कोरियोग्राफी छ । अनुप गदाल र देव मगरको लगानीमा तयार हुने चलचित्रमा कमला लिम्बू र गोकुल सुवेदी सह-निर्माता हुनुहुन्छ ।

चलचित्रमा पूजाको अलवा नायक कुन्साङ बोमजोमको अभिनय रहनेछ । चलचित्रको क्लाइमेक्स र केही एक्सनको दृश्य खिचेर यसको निर्माणपक्ष बाँकी दृश्यका लागि दार्जिलिङ प्रस्थान गर्ने जनाइएको छ ।