मैले गरेको संसद् विघटन विल्कुल ठिक थियो, नत्र पार्टी ध्वस्त हुन्थ्यो: केपी ओली।

काठमाडौं := नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०७७ पुस ५ गते संसद् विघटन नगरेको भए पार्टी ध्वस्त हुने बताउनुभएको छ । मंगलबार काठमाडौंको जोरपाटीमा बागमती प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा बोल्दै उहाँले संसद् विघटन गरेर सही गरेको निष्कर्ष सुनाउनुभएको हो ।

‘हामीले पुस ५ गते संसद् विघटनको सिफारिस गर्‍यौँ । हामीले ठिक ठानेर गर्‍यौँ । ठिक भनेर गर्‍यौँ । ठिक थियो र गर्‍यौँ । नगरी नहुने थियो र गर्‍यौँ । विल्कुलै समसामयिक कदम चाल्यौँ,’ उहाँले भन्नुभयोे, ‘यो नगरेको भए हाम्रो आन्दोलन ध्वस्त हुन्थ्यो । ध्वस्त पार्ने षड्यन्त्र भएको थियो । हामीलाई झुण्ड्याउन जुन डोरी उनीहरूले तयार गरेका थिए । त्यसलाई हामीले छिनालिदियौँ । पुस ५ गतेको कदम भनेको त्यही हो । हामीलाई मार्न जुन डोरी बनाएका थिए, त्यो डोरी हामीहरूले काटिदियौँ ।’

षड्यन्त्र छिनेपछि तत्कालीन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेताहरू आत्तिएको बताउनुभयो। उनीहरूलाई पहिल्यैदेखि प्रतिनिधिसभा भंग हुने डर रहेको पनि अध्यक्ष ओलीले बताउनुभयो । प्रतिनिधिसभा पुनःस्थापना हुँदा पनि केही नबिग्रिएको र संगठन, वामपन्थी आन्दोलन ध्वस्त बनाउने प्रयास विफल बनाइएको ओलीको दाबी थियो ।

‘संगठन, वामपन्थी आन्दोलन ध्वस्त बनाउन कुसुलेहरूले पुतली नचाइरहेका थिए । ती कुसुलेहरूलाई पनि बडा धक्का पर्‍यो,’ उहाँले भन्नुभयो । नेकपा विग्रह उत्कर्षमा पुगेपछि २०७७ पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक संसद् विघटन सिफारिस गर्नुभएको थियो । तर, अदालतले असंवैधानिक ठहर गर्दै फागुन ११ गते पुनःस्थापना गरेको थियो ।

ओलीले २०७८ जेठमा पनि संसद् विघटनको सिफारिस गर्नुभएको थियो । त्यसलाई पनि अदालतलाई उल्ट्याउँदै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने गरी परमादेश दिएको थियो । संसद् विघटन, राजनीतिक, संसदीय र संवैधानिक कदम भएको ओलीको जिकिर थियोे ।

ओलीले दक्षिणपन्थी सरकार बनाउन एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निकै तलसम्म गिरेको बताउनुभयो । ‘विचरा माधव नेपाल नाम त नलिए हुने हो । यो आन्दोलन समाप्त पार्नका निम्ति यति तल गिरे । अदालत गए । कहाँ गएनन् ? के गरेनन् ? प्रतिक्रियावादी, दक्षिणपन्थी सरकार बनाए ।

दुईतिहाइ कम्युनिष्ट पार्टीको सरकार ढालेर,’ उहाँले भन्नुभयोे, ‘यो पार्टीमा बस्दाबस्दै, यसको वरिष्ठ नेता हुँदाहुँदै, पछाडिको सिटमा बसेर, पछाडिको ढोकाबाट घोसेमुन्टो लगाएर लुसुक्क गएर हाम्रो सरकार गिराउन पुगे । दक्षिणपन्थी सरकार बनाउन कहाँसम्म गिरेका ?’

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाम नलिई दक्षिणपन्थीको झोले भएको आरोप लगाउनुभयो । ‘एउटा शब्द छ झोले । उनीहरूले हामीलाई झोले भन्छन्। वामपन्थीको झोला बोकेर दक्षिणपन्थीको झोला बोकेर कुदेको छ तिनलाई भन्छ झोले, देख्दाका वामपन्थी, नामका वामपन्थी, साइनबोर्डका वामपन्थी, स्वार्थको झोला बोकेका छन् दक्षिणपन्थीको, शब्द अलि नराम्रो लाग्छ, नाम नलिई मिलाएर बुझ्नुहोला,’ उहाँले प्रशिक्षणमा भन्नुभयो ।

भीम रावल र ओलीबीच लामो समयपछि भेटवार्ता
लामो समयदेखि पार्टीका गतिविधिमा निष्क्रिय रहेका नेता भीम रावलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ । मंगलबार ललितपुरको पार्टी कार्यालय च्यासलमा उहाँहरूबीच भेटवार्ता भएको हो । भेटपछि भीम रावलले पत्रकारहरूसँग छोटो कुराकानी गर्दै देशको स्थितिबारे छलफल भएको बताउनुभएको हो ।

उहाँले आ-आफ्ना विचारहरू राख्ने र सामान्य कुराकानी भएको जानकारी दिनुभयो । ‘हाम्रोबीच भेट नभएको धेरै भएको थियो । र, आज भलाकुसारी गर्‍यौँ । के छ, कस्तो छ, र अहिले देशको स्थिति, पार्टीको अवस्था के छ, कस्तो छ । यसमा हाम्रा सोच दृष्टिकोणहरू के छ । त्यसमा सामान्य कुराकानी भयो । अब फेरि कुराकानी गर्ने भन्ने भयो,’ उहाँले भन्नुभयो । रावललाई जिम्मेवारी दिनेबारे के छलफल भयो ? भन्ने पत्रकारले प्रश्न गरेका थिए ।

त्यसबारे उहाँले भन्नुभयोे, ‘होइन । हामीले अघि नै भनेका थियौँ । धेरै लामो समयपछि भेटघाट भएको हो । अब उहाँ पार्टीको अध्यक्ष, अध्यक्षसँग धेरै देश-विदेशको बारेमा जानकारी हुन्छ । सूचना हुन्छ । अब म पनि अध्ययन गरिरहेको मान्छे । आफ्ना विचारहरू अहिलेको स्थिति के छ, कस्तो छ भन्ने कुराकानी भयो । अब फेरि कुराकानी गरौँला भन्ने भयो । यति मात्रै भयो ।’

एमालेले मणि थापासँग सोधपुछ गर्ने
नेकपा (एमाले)ले स्थायी कमिटी सदस्य मणि थापासँग सोधपुछ गर्ने भएको छ । सोमबार बसेको पार्टी सचिवालयको बैठकले पछिल्लो समय पार्टी गतिविधिबाट निष्क्रिय बसेका थापासँग सोधपुछ गर्ने निर्णय गरेको हो । ‘उहाँ महाधिवेशनयता नै पार्टी काममा सक्रिय हुनुहुन्न,’ एक पदाधिकारीले भन्नुभयोे, ‘उहाँलाई पार्टी महासचिव शंकर पोखरेलले सोधपुछ गर्नुहुने छ ।’ मणि थापा पार्टी नेतृत्वसँगै असन्तुष्ट रहेपछि पार्टीको जिम्मेवारीमा बिदा जनाएर बस्नुभएको छ । उहाँले फागुनमा सुरु भएको ‘मिसन ग्रासरुट’ अभियान अगाडि नै आफू बिदामा बस्न चाहेको बताउनुभएको थियो ।

नयाँ कामका लागि एमालेबाट बिदा लिएँ : स्थापित
गत स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरका प्रत्यासी केशव स्थापितले नेकपा (एमाले) को केन्द्रीय कमिटीबाट बिदा लिनुभएको छ । एमालेको सोमबार बसेको सचिवालय बैठकले उहाँसहित सिराहका प्रमोद यादवलाई बिदा दिने निर्णय गरेको छ । ‘म केही समय अनुसन्धानमा सक्रिय हुन्छु, राजनीतिमा सक्रिय हुनुपर्दा त्यो पाटो छुटेको छ,’ स्थापितले भन्नुभयो ।

तर, उहाँले जीवन नै एमालेमा व्यतित भएकाले पार्टीबाटै अलग भएको भन्ने कुरा स्वीकार गर्नुभएन । ‘मैले भनेँ नि, अध्ययन, अनुसन्धानमा सक्रिय हुन्छु । केन्द्रीय कमिटीबाट पो बिदा लिने भनेको त, पार्टीबाट होइन नि’ उहाँले भन्नुभयो । उहाँले जीवनमा नयाँ-नयाँ काम गर्नुपर्ने भन्दै अहिले यसैका लागि केन्द्रीय सदस्यको भूमिकाबाट अलग भएको धारणा राख्नुभयो ।