नयाँदिल्ली:= भारतले आज आफ्नो ७७औं स्वतन्त्रता दिवस मनाउँदैछ । स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानी नयाँदिल्लीको लालकिल्लाबाट सम्बोधन गर्ने कार्यक्रम छ।
स्वतन्त्रता दिवसको अवसरमा लालकिल्लाबाट हुने सम्बोधन यसपालि मोदीको १०औं हो । पछिल्ला १० वटा स्वतन्त्रता दिवसमा उनी नै प्रधानमन्त्री छन्। सन् २०२४ मा हुने लोकसभा चुनावको पूर्व सन्ध्यामा हुने प्रधानमन्त्री मोदीको सम्बोधनलाई चासोका साथ हेरिएको छ ।
आजको सम्बोधनमा मोदीले आफ्नो नेतृत्वमा हालसम्म भएका उपलब्धिको जानकारी र आगामी योजनाको घोषणा गर्नसक्ने अनुमान गरिएको छ। एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार स्वतन्त्रता दिवसको लागि शहरभर तैनाथ १० हजार प्रहरी अफिसरहरू मध्ये मुख्य स्थल लाल किल्लाको कार्यक्रमको लागि प्रधानमन्त्री नरेन्द्र मोदी उपस्थित हुँदैछन् ।
आइतबार मध्यरात देखि ठूला सवारी साधनलाई राजधानी प्रवेश गर्न रोक लगाईएको छ । सिमानाको निगरानी र गुप्तचर संकलनका लागि जवान तैनाथ गरिएको छ । आवश्यक स्थानमा ट्राफिक बन्देज लगाइएको छ र नागरिकलाई अपडेट गर्न नियमित रूपमा ट्राफिक सल्लाहहरू जारी गरिएको छ।
नेपालमा पनि मनाइँदै
भारतको ७७ औं स्वतन्त्रता दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरि मनाईदै छ । अहिले विहान काठमाडौंस्थित भारतीय राजदूतावास परिसरमा भारतको राष्ट्रिय झण्डा फहराउने कार्यक्रम रहेको छ ।
आफ्नो स्वतन्त्रता दिवसको अवसर पारेर भारतले नेपाललाई पनि विभिन्न सहयोग गर्दै आएको छ ।भारतको स्वतन्त्रता आन्दोलनमा नेपालका नेताहरू वीपी कोइराला, डा. डिल्लीरमण रेग्मी, मनमोहन अधिकारीलगायतले महत्वपूर्ण भूमिका खेलेका छन् ।




















