काठमाडौं := वैदेशिक राेजगार बाेर्डले रोजगारीका क्रममा विदेशमा मृत्यु भएका श्रमिकका परिवारलाई १० लाख रूपैयाँ आर्थिक सहायता दिने भएको छ।
यसअघि बोर्डले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकको मृत्यु भएको अवस्थामा मृतकका परिवारलाई ७ लाख दिँदै आएको थियो। यस्तो सहायता वैदेशिक रोजगारीमा जाने क्रममा श्रमिकले वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गरेको रकमबाट बोर्डले प्रदान गर्दै आएको छ।
वैदेशिक रोजगारीमा जाने श्रमिकले तीन वर्षसम्मको श्रम स्वीकृति लिँदा एक हजार पाँच सय र तीन वर्षभन्दा बढीको श्रम स्वीकृतिका लागि दुई हजार पाँच सय रूपैयाँ अनिवार्य रूपमा कल्याणकारी कोषमा रकम जम्मा गर्नुपर्ने व्यवस्था छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले बोर्डले यसअघि दिँदै आएको आर्थिक सहायता तथा छात्रवृत्ति ज्यादै न्यून भएका कारण बढाइएको बताए। ‘धेरै पुरानो निर्णय थियो। अहिलेको अवस्थामा निकै कम भएकाले बढाइएको छ,’ उनले भने।
यस्तो सहायता २०६५ सालदेखि मृतकका आफन्त तथा अंगभंग भएका श्रमिकलाई दिन थालिएको हो। सुरूमा आर्थिक सहायता स्वरूप मृतकका परिवारलाई तीन लाख रूपैयाँ दिने गरिएको थियो। आर्थिक वर्ष २०७४⁄७५ देखि बढाएर ७ लाख पुर्याइएको थियो।
यस्तै बोर्डले मृतक श्रमिकका छोराछोरीलाई प्रदान गरिँदै आएको शैक्षिक वृत्ति रकम पनि बढाएको छ । बोर्डले यसअघि शिशु कक्षादेखि कक्षा ८ सम्म अध्ययनका लागि वर्षको आठ हजार रुपैयाँ दिँदै आएकोमा अब १२ हजार पाँच सय रुपैयाँ दिने भएको हो । यस्तै ९ कक्षादेखि १२ कक्षासम्म वर्षको १२ हजार रुपैयाँ प्रदान गरिँदै आएकोमा अब १५ हजार पाँच सय रुपैयाँ दिने निर्णय भएको छ ।
छात्रवृत्ति पनि श्रमिकले वैदेशिक रोजगारीमा जाने क्रममा जम्मा गरेको काेषकै रकमबाट प्रदान गरिँदै आएको छ।नेपालबाट कामको सिलसिलामा विभिन्न गन्तव्य मुलुक पुगेका ठूलो संख्यामा नेपाली युवाहरूले ज्यान गुमाउने गरेका छन्।
कतिपय अंगभंग भएर समेत फर्कने गरेका छन्। पछिल्लो तथ्यांक हेर्दा वार्षिक एक हजारभन्दा धेरैले विभिन्न मुलुकमा विभिन्न कारणले ज्यान गुमाउने गरेका छन्। पाँच सयको हाराहारीमा अंगभंग भएर फर्कनु परेको अवस्था छ।
बोर्डका अनुसार मृत्यु हुनेमा धेरैजसो प्राकृतिक कारण देखाइएको पाइन्छ। त्यस्तै आत्महत्या, दुर्घटना, हार्टअट्याक जस्ता कारण पनि मृत्यु हुने गरेको उल्लेख गरिएको छ। काम गर्ने क्रममा तथा सडक दुर्घटनालगायत कारण अंगभंग भएर फर्कने गरेका छन्।




















