काठमाडौं उपत्यकामा बग्ने विष्णुमती, धोबीखोला, मनोहरा लगायतका खोलामा आएको बाढीले जनजीवन प्रभावित।

काठमाडौं := काठमाडौं उपत्यकामा बग्ने विष्णुमती, धोबीखोला, मनोहरा लगायतका खोलामा बाढी आएको छ । सोमबार रातिदेखि परेको अविरल वर्षाले खोलामा पानीको बहाव बढाएसँगै बाढीको जोखिम पनि बढेको छ।

विष्णुमती, धोबीखोला, मनोहरालगायत खोला किनारका सडकसम्म नै बाढी पुगेको छ । कपन, अनामनगर, शंखमुललगायत सडक किनारका घर र पसलभित्र समेत पानी पसेको छ। मैतिदेवी र अनामनगर क्षेत्रमा धोबीखोलाको बाढी सडक र बस्तीमा पसेको छ।

अहिले अनामनगर क्षेत्रमा धोबीखोला करिडोरको सडक बन्द भएको छ । वरपरका वस्तीमा बाढी पसेपछि नागरिक बाहिर निस्केका छन् । नेपाल प्रहरीले खोला वरपर नजान आग्रह गर्दै माइकिङ गरिरहेको छ ।

उपत्यकाका सबैजसो खोला तथा नदीमा बाढी आएको छ । काठमाडौं उपत्यकाको बुढानिलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास भारी बर्षा भएको छ ।

विष्णुमती, धोविखोला, मनोहरा लगायतमा जलसतह बढ्दो छ र सतर्कता पुगेकोले नदी तटीय क्षेत्रहरूमा रहनेहरू र नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहान ११ बजे सम्म उच्च सतर्कता अपनाउन बाढी सूचना केन्द्रले आग्रह गरेको छ ।