मलेसियामा नेपाली श्रमिक धेरै भएकोले समस्या पनि धेरै छ्न, सबैजना मिलेर समाधान गर्नुपर्छ: राकेश महतो।

Rn Chaudhary tharu

[ लेखनाथ पोखरेल ] 

क्वालालम्पुर (मलेसिया):= गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको महाधिवेशन यही जुलाई ३० मा हुँदै छ । महाधिवेशनले संघको आगामी नेतृत्व चयन गर्ने भएकोले पनि एनआरएनए मलेसियामा चुनावी सरगर्मी चुलिएको छ । अध्यक्षका लागि हालसम्म तीनजना दाबेदार देखिएका छन् । उम्मेदवार विनोद थापा , सन्तोष कार्की र राकेश महतो । विगत लामो समयदेखि मलेसियामा विभिन्न व्यवसाय सञ्चालन गर्दै आउनुभएका महतो आफू नै अध्यक्ष हुनुपर्छ भन्ने दाबीले बढी नै चर्चामा हुनुहुन्छ ।

२३ वर्षदेखि मलेसियामा बसोबास गरी मलेसियन युवतीसँगै वैवाहिक सम्बन्ध कायम गर्नुभएका र आफ्नै व्यवसाय सञ्चालन गर्नुभएका महतो नेपालको बारा जिल्लाको महागढीमाई नगरपालिका १ बरियारपुरवासी हुनुहुन्छ । मलेसियाका सफल व्यवसायी महतोले नेपालको कृषि क्षेत्रमा पनि लगानी गर्नुभएको छ । त्यसो त अन्य नेपाली श्रमिक जस्तै रोजगारीका क्रममा मलेसियामा साधारण श्रमिकका रूपमा छिर्नुभएका महतो मिहिनेत र लगनशीलताकै कारण छोटो समयमै व्यावसायिक सफलता हासिल गर्न सफल हुनुभएको हो।

सुरुदेखि नै मलेसियामा कार्यरत नेपाली श्रमिकका समस्या सहयोग गर्दै आउनुभएका महतो यसपटक एनआरएनएको नेतृत्व पंक्तिमा बसेर अझै बढी नेपाली श्रमिकको सेवा गर्ने लक्ष्यसाथ उम्मेदवारी घोषणा गरेको बताउनुहुन्छ । मलेसिया नेपाली युवाको रोजगारीको प्रमुख गन्तव्य मुलुक हो । जहाँ पाँचलाख नेपालीहरू कार्यरत रहेको बताइन्छ ।

तर, नेपाली म्यानपावर कम्पनीहरूको बदमासीका कारण धेरै नेपाली कामदार मलेसियामा विभिन्न समस्यामा पर्ने गरेका छन् । एनआरएनएको प्रमुख प्राथमिकता त्यहाँका श्रमिकको हक अधिकार स्थापनामा केन्द्रित हुने गरेको छ । त्यसैले पनि मलेसिया एनआरएनएको नेतृत्व बारेमा धेरैको चासो हुने गरेको छ ।

सोही सन्दर्भमा अध्यक्षका दाबेदार महतोसँगको कुराकानी हेर्नुहोस् :

तपाईं के कामका लागि मलेसिया जानुभएको थियो ?

रोजगारीकै क्रममा आजभन्दा २३ वर्षअघि मलेसिया आएको हुँ। श्रमिककै रूपमा मलेसिया पसेको हुँ । १४ वर्षसम्म काम गरियो । कामकै सिलसिलामा साधारण श्रमिक हुँदै म्यानेजरसम्म भएर काम गरियो । त्यसपछि मैले आफ्नै व्यापार व्यवसाय सुरु गरेँ ।

बिहे पनि यतै मलेसियामै गर्नुभयो ?

हो, मेरो मिसेज मलेसियन हुन् । मेरा बच्चाहरू यहीँ वकिल (ल)कानुन पढ्दै छन् । यस अर्थमा भन्नुपर्दा म सक्कली एनआरएनए पनि हुँ । विगत १० वर्षदेखि एनआरएनएको अभियानमा सक्रिय भएर लागिरहेको छु । एनआरएनएको साधारण सदस्य हुँदै सहकोषाध्यक्ष, कोषाध्यक्ष, उपाध्यक्ष र हाल एनआरएनए मलेसियाको आगामी नेतृत्वका लागि अध्यक्ष पदको प्रतिस्पर्धामा छु ।

मलेसियामा के व्यवसाय गर्नुहुन्छ ?

ग्रोसरी सप, मार्ट, रेष्टुरेण्ट, होस्टल म्यानेजमेन्ट लगायतका व्यवसाय सञ्चालन गर्दै आएको छु ।

कामदार नेपाली छन् कि अरू नै ?

नेपाली र यही मलेसियन दुवै काम गर्छन् । नेपाली र यहीँका स्थानीय गरी करिब ४०, ४५ जनालाई रोजगारी दिएको छु । विगतमा म पनि अरूको कम्पनीमा श्रमिक रूपमा काम गर्थेँ ।

त्यहाँ नेपाली कामदारको अवस्था कस्तो छ ?

कतिपय म्यानपावर कम्पनीको बदमासीका कारण नेपाली कामदारले यहाँ आएर धेरै दुःख पाउने गरेका छन् । म्यानपावर कम्पनीहरूले झुटा आश्वासन दिएर कामदार पठाएका हुन्छन्, जसकारण कामदारले यहाँ भनेअनुसारको काम पाउँदैनन्, भनेअनुसारको पारिश्रमिक पाउँदैनन् । कतिपयले कम्पनीको काम नै छाडेर भाग्ने गर्दा झन् दुःख पाउने गरेको अवस्था छ । कति जेलमा पर्छन्, कति बेवारिसे अवस्थामा हुन्छन् ।

त्यस्तो अवस्थामा हामीले नेपाली दूतावाससँगको सहयोगमा नेपाली कामदारको उद्धार गर्ने गरेका छौँ । काम नपाएर अलपत्र परेका कामदारलाई रासन व्यवस्था, जेलमा परेकाको उद्धार, स्वदेश फर्किन टिकट व्यवस्था, मृतकको शव नेपाल पठाउने काममा सहयोग र सहजीकरण गर्दै आएका छौँ ।

मलेसियामा आफैँ व्यवसाय गर्ने नेपालीहरू कति छन् ?

झण्डै दुई तीन सय नेपालीहरूले यहाँ आफ्नै व्यापार व्यवसाय सञ्चालन गर्दै आएका छन् । मलेसियाको भूगोल र हावापानी पनि नेपालीहरूका लागि अनुकूल भएकाले यहाँ नेपाली कामदारको आकर्षण बढेको हो । यहाँ धेरै जाडो र धेरै गर्मीको समस्या पनि छैन । २८ देखि ३२ डिग्रीको तामक्रम छ । यहाँको मौसम एकदमै राम्रो छ ।

एनआरएनए मलेसियाको आगामी नेतृत्वका लागि चुनावी अभियानमा हुनुहुन्छ, चुनावी एजेण्डा के छन् ?

चुनावी एजेण्डा छन्, मैले प्रतिबद्धतापत्र नै सार्वजनिक गरिसकेको छु । नेपाली राजदूतावास मलेसियासँग नजिक रहेर नेपाल र नेपालीका लागि सहकार्य गर्ने, मलेसियामा रहेका सम्पूर्ण संघ सस्था, बिजनेस व्यवसायी विद्यार्थी पत्रकारहरूसँग सहकार्य गर्दै पीडित श्रमिकले आश्रय लिइरहेको हाम्रो कार्यालयलाई थप ब्यबस्थित र स्थानीय कानुनसम्मत बनाउने प्रयास गर्नेछु ।

त्यसैगरी, अति विपतमा परेका नेपाली श्रमिकका लागि आपतकालीन छुट्टै राहत कोष छुट्टै स्थापना गर्नेछु । कोषलाई दिगो बनाउन छुट्टै खाता खोलेर पाँचजनाको समिति बनाई तुरुन्त पीडितलाई राहतको व्यवस्था गर्नेछु । कोष वृद्धिका लागि केन्द्रीय पदाधिकारी, क्षेत्रीय पदाधिकारी र यहाँस्थित व्यवसायीसँंग कार्यक्रम सञ्चालन गर्नेछु । कार्यकालको हरेक महिना आरएम दुई हजार रिंगेट आफँैले जम्मा गरेर नेपाली श्रमिकका लागि सहयोग गर्नेछु । साथै विपद्मा रहेको नेपाली श्रमिकको सहयोगका लागि सबैमा आह्वानसमेत गर्दछु ।

नेपाल सरकार, नेपाली राजदूतावास मलेसिया, एनआरएनए अन्तरर्राष्ट्रिय समिति, राष्ट्रिय समिति तथा यहाँ रहेका संघ संस्थासँग समन्वय गर्दै मलेसिया रोजगारीलाई थप व्यवस्थित र श्रमिकका समस्या, हक अधिकार, सुरक्षामा जोड दिनेछु । ‘एकरात, श्रमिकको साथ’ भन्ने वर्ष २०१९-२०२१ को नीतिलाई फेरि पूर्ण निरन्तरता दिँदै प्रत्येक महिना दूतावासको सम्पर्कदेखि टाढा रहेका पीडित नेपाली श्रमिकसमक्ष पुग्नेछु ।

त्यस्तै, नेपाली श्रमिकको बाहूल्यता रहेको रहेक क्षेत्रमा क्षेत्रीय समिति गठन गर्न त्यहाँ रहेका नेपालीहरूसँग सहकार्य गर्नेछु । सो क्षेत्रबाट केन्द्रीय कार्यसमितिमा आउनुहुने सबैसँग सम्मानजनक सहकार्य गर्नेछु ।