क्वालालम्पुर (मलेसिया):= गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) मलेसियाको जुलाई ३० तारिख हुने निर्वाचनको लागि आगामी सन् २०२३-२०२५ सम्मको कार्यकालको नेतृत्वको लागि नेपाली जनसम्पर्क समिति मलेसियाले आफ्नो आधिकारिक उम्मेदवार सार्वजनिक गरेको छ ।
आज मिति सन् २०२३ जुलाई २२ तारिख शनिबारको दिन नेपाली कांग्रेस निकट प्रवास संगठन नेपाली जनसम्पर्क समिति मलेसियाको कार्यालयमा बसेको समितिको बैठकले एनआरएनएको निर्वाचनमा अध्यक्ष पदमा समितिका हालका उप-सभापति (उपाध्यक्ष) राकेश प्रसाद महतोलाईनै अगाडि बढाउने निर्णय गरिएको सभापति चोलाकान्त पंगेनीले मलाया खबरलाई बताए ।

एनआरएनए मलेसियाको निर्वाचनको लागि अध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दिएका छ्न । उम्मेदवारी दिइएका तीन जना मध्ये एनआरएनए मलेसियाको बर्तमान अध्यक्ष बिनोद थापा र राकेश महतो नेपाली कांग्रेस पार्टी निकटकै हुन , भने सन्तोष कार्की नेकपा एमाले पार्टी निकटको उम्मेदवार हुन् ।
एउटा् पदको लागि कांग्रेस निकट पार्टीबाटै दुईजना उम्मेदवार लागि परे पछि अध्यक्षको लागि आधिकारिक उम्मेदवार को हुन त ? भन्ने चर्चा चलिरहेको बेला जनसम्पर्क समितिले आधिकारिक उम्मेदवारको चिट्ठी राकेश महतोलाई दिदैं महतोनै आधिकारिक उम्मेदवार रहेको स्पष्ट पारेको हो ।
हाम्रो समितिको तर्फबाट एनआरएनए मलेसियाको अध्यक्ष पदको लागि आधिकारिक उम्मेदवार राकेश महतोनै रहेकोले महतोलाई नै जिताउने तिर ध्यानाकर्षण गरिने र सोही अनुरुप अगाडि बढ्ने सभापति पंगेनीले बताए ।

एनआरएनए निर्वाचनको लागि भाग लिएर उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुको अन्तिम नमावली प्रकाशन आज २२ तारिख दिउँसो ०३:०० बजे पछाडि साझ ०५:३० बजेसम्म प्रकाशन गरिने निर्वाचन समिति संयोजक खगेन्द्र न्यौपानेले बताए ।




















